काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर घटाउने र व्यक्तिगत कर्जाको सीमा बढाउने निर्णय गरेको छ।
केन्द्रीय बैंकले स्थायी तरलता सुविधा दर ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ भने नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा झारिएको छ। निक्षेप सङ्कलन दर भने २.७५ प्रतिशतमा यथावत राखिएको छ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाख रुपैयाँबाट बढाएर १ करोड रुपैयाँ कायम गरिएको छ। साथै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरिएको छ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पुर्याएको छ । यसअघि लघुवित्तले धितोमा ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लचिलोपन अपनाउँदै आर्थिक गतिविधिलाई प्रोत्साहन दिने र साना तथा व्यक्तिगत ग्राहकका लागि कर्जासुविधा सहज बनाउने उद्देश्यले निर्णय गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस