विराटनगर । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनलाई केन्द्रमा राख्दै मोरङ जिल्लामा ४ हजार ३ सय ८३ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ ।
निर्वाचनको संवेदनशीलता, भौगोलिक अवस्था र जनघनत्वलाई ध्यानमा राख्दै मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि आवश्यक संख्या निर्धारण गरी म्यादी प्रहरीको माग गरिएको हो । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो ।
माग अनुसारको संख्या स्वीकृत भएसँगै शुक्रबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आवेदन दिन युवायुवतीको उल्लेख्य भिड देखिएको छ । रोजगारीको अवसरसँगै राष्ट्रसेवामा सहभागी हुने चाहनाका कारण आवेदन दिनेहरूको चाप बढेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयको निर्वाचन सेलअन्तर्गत इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले म्यादी प्रहरी बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन संकलन गरिरहेको छ । आवेदन प्रक्रिया माघ १ गतेसम्म खुला रहने छ । तोकिएको अवधिभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
एसपी कटवालका अनुसार म्यादी प्रहरीमा आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक योग्य मानिनेछन् । साथै, फौजदारी अभियोगमा सजाय नपाएको, कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको, आतंककारी वा विध्वंसकारी गतिविधिमा संलग्न नरहेको हुनुपर्ने स्पष्ट मापदण्ड तोकिएको छ । यी सबै सर्त पूरा गरेका व्यक्तिहरू मात्र छनोट प्रक्रियामा समावेश हुनेछन् ।

म्यादी प्रहरीमा छनोट भएपछि सरकारले तोकेबमोजिमको सेवा सुविधा उपलब्ध गराइने जानकारी पनि प्रहरीले दिएको छ । छनोटमा परेका म्यादी प्रहरीलाई निर्वाचन अवधिभर मतपेटिका सुरक्षा, मतदान केन्द्रको निगरानी, भिडभाड व्यवस्थापन, मतदाता र कर्मचारीको सुरक्षाजस्ता जिम्मेवारी दिइनेछ । त्यसअघि उनीहरूलाई आवश्यक सुरक्षा तालिम प्रदान गरिने एसपी कटवालले बताए ।
निर्वाचन नजिकिँदै जाँदा मोरङजस्तो राजनीतिक रूपमा संवेदनशील जिल्लामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउने तयारीस्वरूप म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको प्रहरीको भनाइ छ । आवेदन दिन देखिएको उत्साहले युवायुवतीमा म्यादी प्रहरीप्रतिको आकर्षण बढेको संकेत गर्छ ।


प्रतिक्रिया दिनुहोस