काठमाडौं । अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। आँधीका कारण करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने यातायात, हवाई सेवा र दैनिक जनजीवन गम्भीर रूपमा प्रभावित भएका छन्।
परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डिसीसहित २० वटा राज्यमा आपत्काल घोषणा गरेका छन्।
नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो हिम आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अमेरिकी नागरिक, अर्थात् देशको दुई–तिहाइ जनसंख्या प्रभावित भएका छन्। बेलायती सञ्चारमाध्यम ‘डेली मेल’ का अनुसार हालसम्म १३ जनाको मृत्यु भइसकेको छ।
हिम आँधीका कारण हवाई सेवा समेत ठप्प बनेको छ। ‘फ्लाइटअवेयर’ को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१ हजारभन्दा बढी उडान प्रभावित भएका छन् भने १८ हजारभन्दा बढी उडान रद्द गरिएका छन्। आइतबार मात्रै १० हजार ८०० भन्दा बढी उडान रद्द भएका थिए। विज्ञहरूका अनुसार उडान रद्द र ढिलाइको समस्या अझै केही दिनसम्म जारी रहन सक्ने देखिएको छ।
टेनेसी राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ आइतबार दिउँसोसम्म करिब ३ लाख ३७ हजार घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध थियो। लुइसियाना, मिसिसिपी, केन्टकी, जोर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौँ मानिस अन्धकारमा बस्न बाध्य छन्।
हिउँ र असिना वर्षाका कारण रुख ढलेका छन् र विद्युत् प्रसारण लाइनहरू चुँडिएका छन्। अधिकारीहरूका अनुसार विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु हुन हप्तौँ लाग्न सक्ने अवस्था छ।
आपत्काल घोषणा भएपछि फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) ले प्रभावित राज्यहरूमा आवश्यक सामग्री, कर्मचारी तथा खोज तथा उद्धार टोली परिचालन गरेको छ। न्युयोर्ककी गभर्नर क्याथी होचुलले राज्यबासीलाई वर्षौँपछिको सबैभन्दा लामो र कडा चिसो तथा हिमपातका लागि तयारी गर्न आग्रह गरेकी छन्।
क्यानडाको सीमासँग जोडिएका क्षेत्रमा तापक्रम माइनस ३७ देखि माइनस ४५ डिग्री सेल्सियससम्म झरेको छ। गभर्नर होचुलले यसलाई ‘हड्डी नै जमाउने आर्कटिक आँधी’ को संज्ञा दिएकी छन्।
प्रतिक्रिया दिनुहोस