ललितपुर । ठेचो नेपाल क्योकुशिन काइकान सोनोडा कराँते संघ, ठेचो उप-डोजोको आयोजनामा आगामी २०८२ माघ २३ र २४ गते "दोस्रो गोदावरी नगरपालिका क्योकुशिन काइकान सोनोडा कराँते कप" तथा "बृहत राष्ट्रिय खुल्ला क्योकुशिन काइकान कराँते प्रतियोगिता-२०२५" आयोजना हुने भएको छ।
गोदावरी नगरपालिका वडा नं. १२ स्थित ठेचोको दुरिखेल चौरमा संचालन हुने यस प्रतियोगिताले देशभरका कराँते खेलाडीहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ। "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ।
कार्यक्रमको मुख्य विवरण:
प्रतियोगिताको नाम: दोस्रो गोदावरी नगरपालिका क्योकुशिन काइकान सोनोडा कराँते कप
मिति: २०८२ माघ २३ र २४ गते
स्थान: गो.न.पा.-१२, ठेचो, दुरिखेल चौर, ललितपुर
आयोजक: नेपाल क्योकुशिन काइकान सोनोडा कराँते संघ (ठेचो उप-डोजो)
यस कार्यक्रमलाई क्योकुशिन कराँतेका संस्थापक मासुतात्सु ओयामा, अन्तर्राष्ट्रिय संस्थापक कािन्चो नाओयुकी सोनोडा, र नेपालका ब्रान्च चिफ शिहान ज्ञानी रत्न शाक्य लगायतका दिग्गज व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्दै आयोजना गरिएको हो।
प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न ठेचो डोजोका प्रमुख शिहान बिक्रम महर्जन, प्रशिक्षकहरू सेन्सेई अश्मिन के.सी., सेम्पाइ तथा आयोजक अध्यक्ष यज्ञ राज गिरी र सेम्पाइ अभिषेक खत्री लगायतको टोली तयारीमा जुटेको छ।
यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र युवाहरूलाई अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस