२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ट्रम्पको चेतावनीः इरानसँग परमाणु सम्झौताका लागि समय सकिँदै, आक्रमण भयावह हुनसक्ने

बिहिवार , माघ १५, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति क्रमशः बढ्दै गएको उल्लेख गर्दै उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह गरेका छन् ।

ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी दिँदै यो टोली भेनेजुएलामा पठाइएकोभन्दा पनि ठूलो रहेको दाबी गरेका छन् । उनले सम्झौता नगरे आक्रमण अझै भयावह हुनसक्ने चेतावनीसमेत दिएका छन् ।

यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल उच्च सतर्कतामा रहेको बताउँदै जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल र शक्तिशाली प्रतिकार गरिने चेतावनी दिएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ र परमाणु हतियार विकासको आरोप अस्वीकार गर्दै आएको छ ।

ट्रम्पको पछिल्लो चेतावनी इरानमा हालै भएको प्रदर्शन दमनको पृष्ठभूमिमा आएको हो । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएका प्रदर्शनहरू केही दिनमै शासन व्यवस्थामाथि प्रश्न उठ्ने स्तरमा पुगेका थिए । अमेरिकी मानवअधिकार संस्थाहरूका अनुसार सो अशान्तिमा हजारौँ मानिसको मृत्यु भएको दाबी गरिएको छ, यद्यपि यस्ता तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन् ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी गर्दै अर्थतन्त्र धराशायी भएकाले सरकारसँग जनआक्रोश सम्बोधन गर्ने क्षमता कमजोर भएको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई परमाणु हतियार होइन, निष्पक्ष सम्झौताका लागि वार्तामा आउन आग्रह गरेका छन् । उनले आवश्यक परे खाडी क्षेत्रमा तैनाथ अमेरिकी सैन्य शक्तिले तीव्र र कडा कारबाही गर्न तयार रहेको चेतावनीसमेत दिएका छन् ।

यसप्रति प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अराघचीले इरान बराबरी र दबाबरहित वातावरणमा निष्पक्ष परमाणु सम्झौताका लागि सधैं तयार रहेको बताएका छन् । इरानका उप–विदेशमन्त्री काजेम घारिबाबादीका अनुसार अमेरिका–इरानबीच औपचारिक वार्ता सुरु नभए पनि सन्देशहरूको आदानप्रदान भने भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ