काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीले अमेरिका र इरानबीच वार्ताको संरचना निर्माण अघि बढिरहेको बताएका छन् । खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेका बेला इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
लारिजानीले ‘मिडियामा देखाइएको युद्धको माहोलभन्दा फरक रूपमा वार्ताको संरचना तयार भइरहेको’ बताएका छन् । सम्भावित वार्ताको ढाँचा र समयबारे भने उनले खुलाएका छैनन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग संवाद भइरहेको दाबी गरेका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले युद्धभन्दा सम्झौतालाई प्राथमिकता दिएको र इरानसँग सम्झौता हुन सक्ने वा नहुन सक्ने दुवै सम्भावना खुला रहेको बताएका छन् ।
पछिल्ला हप्ताहरूमा अमेरिका–इरानबीच तनाव चर्किएको छ । ट्रम्प प्रशासनले इरानको परमाणु कार्यक्रम सीमित गर्नुपर्ने भन्दै सैन्य कारबाहीको चेतावनी दिँदै आएको छ । यसै क्रममा अमेरिकाले ‘अब्राहम लिंकन’ विमानवाहक युद्धपोतको नेतृत्वमा ठूलो नौसैनिक समूह खाडी क्षेत्रमा तैनाथ गरेको छ ।
इरानका वरिष्ठ नेताहरूले अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन् । तर इरानले वार्ताका लागि ट्रम्प प्रशासनले सैन्य आक्रमणको धम्की दिन बन्द गर्नुपर्ने सर्त राखेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले होर्मुज जलडमरूमध्यमा आयोजना गर्न लागेको नौसैनिक अभ्यासलाई असुरक्षित र तनाव बढाउने भन्दै चेतावनी दिएको छ ।
यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानको किनार नजिक बसेर इरानी सशस्त्र बलको अभ्यासबारे निर्देशन दिन खोज्नु अस्वीकार्य भएको बताएका छन् । उनले बाह्य सैन्य उपस्थितिले क्षेत्रीय तनाव झनै बढाउने आरोप लगाए ।
क्षेत्रीय तनाव कम गर्न इरानले कूटनीतिक पहल तीव्र पारेको छ । यसै क्रममा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले शनिबार तेहरानमा लारिजानीसँग भेट गरी क्षेत्रीय अवस्था र तनाव न्यूनीकरणबारे छलफल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस