काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले इटालीसँग विश्वकपमा लज्जास्पद हार व्यहोरेको छ ।
इटलीका ओपनरद्वय मोस्का दाजुभाइले अविजित साझेदारी गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको हो ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
इटालीको जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे ।
नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो ।
नेपालका आरिफ शेखले २७ रन बनाए भने रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहे ।
बलिङमा इटालीका क्रिसन कलुगामागेले तीन विकेट लिए भने बेन मनेन्टीले दुई तथा अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।
नेपाल समूहमा लगातार दुई खेलमा पराजित भएसँगै समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । अब नेपालले आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डससँग खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस