२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका १९ लाखभन्दा बढी नेपालीहरू असहज अवस्था रहेका छन् ।

संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानविरुद्ध शनिबार गरिएको संयुक्त सैन्य आक्रमणपछि इरानले त्यसको प्रत्याक्रमण गर्दा पश्चिम एसियाको स्थिति तनावपूर्ण बन्दै गएको छ । सुरुमा सो क्षेत्रका मुुलुकमा रहेका अमेरिकी सेनाका अखडाहरूलाई निशाना बनाएको इरानले पछिल्लो दिनमा विमानस्थल, पेट्रोलियम प्रशोधन केन्द्रलगायत संवेदनशील स्थानमा समेत आक्रमण गर्न थालेको छ ।

युद्ध लम्बिँदै जाँदा त्यस क्षेत्रका मुलुकमा रहेका १९ लाखभन्दा बढी नेपाली थप अन्योलमा परेका छन् । अर्कातिर त्यस क्षेत्रका दर्जनौँ उडान रद्द हुँदा त्यहाँ जाने तयारी अवस्थामा रहेका र स्वदेश फर्कने क्रममा रहेका नेपालीहरू अलपत्र परेका छन् ।

यसैगरी संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायेद अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी गोरखाका दिवस श्रेष्ठको यही फागुन १७ गते निधन भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । नेपाल सरकारले श्रेष्ठको शव स्वदेश ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल सरकारले सबै सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी अप्ठ्यारोमा परेका नेपालीलाई सम्बन्धित मुलुकसँग सम्पर्क गरी आवश्यकताअनुसार उद्धार प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

सो क्षेत्रका नेपाली नागरिकको सुरक्षा नेपाल सरकारका लागि उच्च प्राथमिकतामा रहेको मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले त्यस क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रहन, नआत्तिन र सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताए । मन्त्रालयले द्वन्द्वका क्रममा सर्वसाधारण नागरिकहरूको सुरक्षा, सुरक्षात्मक व्यवस्था तथा संरक्षण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग पुनः आग्रह गरेको छ । साथै सम्बन्धित जेनेभा महासन्धिहरू तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रावधानहरूको सधैँ पूर्ण रूपमा सम्मान तथा पालना गरिनुपर्ने मन्त्रालयको जोड छ ।

पश्चिम एसिया र आसपासका मुलुकमध्ये हाल इरानमा छ जना, इजरायलमा छ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा श्रम स्वीकृति लिएर गएका चार लाख ७८ हजार १४४ र भिजिट भिसामा गएका चार लाख ३७ हजार ४४ जना, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल करिब १९ लाख ४४ हजार ४७२ जना नेपाली नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ