२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण १ सय २० बङ्गुर मरे

मंगलवार , चैत्र ३, २०८२

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बङ्गुर मरेका हुन् ।

भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिलोपटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो ।

रोग सङ्क्रमित सुँगुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको -याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि प्रयोग गर्दा सर्न सक्ने न्यौपानेले जानकारी दिए ।

यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डामहरु देखापर्ने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिज निकाल्ने, रोग सङ्क्रमित सुँगुर–बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, बच्चा तुहिनेजस्ता लक्षणहरु देखापर्ने उनले बताए ।

यस रोगबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवत–जावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपायहरु अपनाउनुपर्ने कार्यालयले जनाएको छ ।

बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधै फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बङ्गुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्नेजस्ता कार्य गर्दा क्षति कम हुने न्यौपानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ