काठमाडौं । आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै छ । दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वागतमा आज बिहानै नेपाली सेनाले टुँडीखेलमा तोप पड्काएर विशेष सम्मान प्रकट गरेको छ ।
यस वर्षको गणतन्त्र दिवस सैनिक मञ्च टुँडीखेलमा आयोजना हुने मुख्य समारोह एउटा ऐतिहासिक र राजनीतिक रूपमा निकै अर्थपूर्ण निर्णयका कारण विशेष बन्ने भएको छ । विगतका वर्षहरूमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मुख्य समारोहलाई सम्बोधन गर्ने स्थापित परम्परा रहे पनि यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले टुँडीखेलमा सम्बोधन नगर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री शाहले स्थापित परम्परा तोड्दै यसपटक राष्ट्रपतिलाई मात्रै सम्बोधन गराउने गरी शीतल निवासमा पत्र पठाएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार “गणतन्त्रको सर्वोच्च प्रतीक राष्ट्रपति भएकाले यस्तो ऐतिहासिक राष्ट्रिय दिवसको मुख्य सम्बोधन राष्ट्रपतिले नै गर्नुपर्छ” भन्ने अडानसहित उनले शीतल निवासलाई अनुरोध गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले बालेन सैनिक मञ्चको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी हुने तर समारोहलाई सम्बोधन नगर्ने स्पष्ट पारेको छ। बिहान ८ बजेदेखि सुरु हुने उक्त विशेष समारोहलाई अब राष्ट्रपति रामचन्द्र पौडेलले मात्र सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस