काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
आइतबार बिहान सिङ्गा ओभल ग्राउन्डमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ्स खेले। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेलले २० रन तथा आसिफ शेखले १ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९।४ ओभरमा ९४ रनमा समेटिएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रनको योगदान दिए ।
नेपालका लागि करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिए ।
अब नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आइतबार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
यस प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, ओमान, हङकङ र मलेसिया चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस