सिन्धुपाल्चोक / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको नयाँ जिल्ला नेतृत्व चयनका लागि सभापति पदमा पाँच जना बीच प्रतिस्पर्धा हुने भएको छ । सुकुटेमा आजदेखि सुरु भएको पार्टीको प्रथम जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व टुंग्याउने तयारी गरिएको हो ।
निर्वाचन समितिका अनुसार जिल्ला सभापति पदका लागि जेपी सिलवाल, चक्रपाणि सिग्देल, पासाङ तामाङ, दिलमान श्रेष्ठ र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । सहमतिका लागि अन्तिमसम्म प्रयास गरिए पनि सफल हुन नसकेपछि नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने भएको हो ।
उपसभापति पदमा मुके शेर्पा, याङछेन लामा र ज्ञानी बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । उपसभापतिका उम्मेदवार मुके शेर्पा २०७९ सालको स्थानीय तह निर्वाचनमा भोटेकोशी गाउँपालिका–१ बाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै सचिव पदका लागि राजिव हमाल, ज्ञानी बस्नेत, प्रल्हाद आर्याल र सरोजा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । अन्य पदहरूमा पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा जिल्लाभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । निर्वाचन समितिले सम्भव भएसम्म शनिबार अबेर सम्म मतदान सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।
रास्वपाले देशभर पहिलो महाधिवेशनअन्तर्गत वडा, पालिका र जिल्ला अधिवेशनमार्फत संगठन निर्माण तथा नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेका बेला सिन्धुपाल्चोकमा भने नेतृत्वका लागि बहुपक्षीय प्रतिस्पर्धाले अधिवेशनलाई थप रोचक बनाएको छ । प्रतिनिधि सभा निर्वाचन दुइ क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा रास्वपाले चुनाव जितेको थियो ।
प्रतिक्रिया दिनुहोस