काठमाडौं । नेपालका वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) जेठ महिनामा सामान्य रूपमा घटेको देखिएको छ। तथ्यांकअनुसार वैशाखमा ७२.७५ प्रतिशत रहेको औसत सीडी रेसियो जेठमा ७२.४२ प्रतिशतमा झरेको छ। अर्थात् एक महिनामा औसत ०.३३ प्रतिशत बिन्दुले कमी आएको छ।
२० वटा वाणिज्य बैंकहरूमध्ये ८ वटा बैंकको सीडी रेसियो बढेको छ भने १२ वटा बैंकको सीडी रेसियो घटेको छ।
बैंकहरूको तुलना गर्दा एनएमबी बैंक सबैभन्दा उच्च ८४.१३ प्रतिशत सीडी रेसियोसहित पहिलो स्थानमा रहेको छ। त्यसपछि प्राइम कमर्सियल बैंक ८३.४३ प्रतिशत, सानिमा बैंक ८२.७७ प्रतिशत, एभरेष्ट बैंक ८१.८६ प्रतिशत र नबिल बैंक ८०.०३ प्रतिशतसहित अगाडि छन्।
यसैगरी सिटिजन्स बैंक ७९.२५ प्रतिशत, माछापुच्छ्रे बैंक ७९.१८ प्रतिशत, सिद्धार्थ बैंक ७६.२७ प्रतिशत, लक्ष्मी सनराइज बैंक ७६.०५ प्रतिशत, हिमालयन बैंक ७३.६२ प्रतिशत र कुमारी बैंक ७३.१५ प्रतिशत सीडी रेसियोमा रहेका छन्।
मध्यम समूहमा ग्लोबल आइएमई बैंक ६९.६५ प्रतिशत, प्रभु बैंक ६९.४२ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ६९.१७ प्रतिशत, नेपाल एसबीआई बैंक ६८.७१ प्रतिशत, कृषि विकास बैंक ६८.७७ प्रतिशत, नेपाल बैंक ६६.२३ प्रतिशत तथा एनआईसी एशिया बैंक ६२.५७ प्रतिशत सीडी रेसियोमा रहेका छन्।
सबैभन्दा कम सीडी रेसियो स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ४८.३० प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंक ५५.७८ प्रतिशतमा रहेको छ।
मासिक परिवर्तनका आधारमा कृषि विकास बैंकको सीडी रेसियो सबैभन्दा धेरै २.९२ प्रतिशत बिन्दुले बढेको छ। त्यसपछि माछापुच्छ्रे बैंकमा २.०४ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा १.०२ प्रतिशत बिन्दुको वृद्धि देखिएको छ। विपरीत रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सीडी रेसियो सबैभन्दा धेरै २.८६ प्रतिशत बिन्दुले घटेको छ भने एभरेष्ट बैंकमा १.९३ प्रतिशत र सिटिजन्स बैंकमा १.४६ प्रतिशत बिन्दुले कमी आएको छ।
समग्रमा हेर्दा अधिकांश वाणिज्य बैंकहरूको सीडी रेसियो स्थिर रहे पनि जेठ महिनामा औसत स्तरमा सामान्य गिरावट देखिएको तथ्यांकले देखाउँछ।
कर्जा विस्तारको गति सुस्त रहँदा र निक्षेप संकलन लगातार बढिरहँदा बैंकहरुको सीडी रेसियो क्रमशः घट्दै गएको बैकरहरुकाे भनाई छ। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई १०० रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
बैंकहरुले अधिकतम ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न पाउँछन्। तर हाल औसत सीडी रेसियो ७२.४२ प्रतिशतमा सीमित रहनुले बैंकहरुसँग ठूलो परिमाणमा लगानीयोग्य रकम बाँकी रहेको तथ्यले प्रष्ट देखाएकाे छ।
प्रतिक्रिया दिनुहोस