चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएसँगै केन्द्रीय सदस्य पदका आकांक्षीहरूको सक्रियता पनि बढेको छ । उद्घाटन सत्रदेखि नै विभिन्न उम्मेदवारहरू प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा मत माग्न व्यस्त देखिएका छन् ।
सोमबार बन्दसत्रको औपचारिक प्रक्रिया अघि नबढे पनि दिनभर प्रतिनिधिहरू बसेका होटल–होटलमा पुगेर केन्द्रीय सदस्यका आकांक्षीहरूले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
यसपटकको महाधिवेशनमा विशेष आकर्षणका रूपमा जेनजी पुस्ताका युवा उम्मेदवारहरू देखिएका छन् । केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका २३ वर्षीया आकांक्षा पोखरेल र सन्तोष पन्त युवा पुस्ताको प्रतिनिधित्व गर्ने अनुहार बनेका छन्।
आकांक्षा पोखरेल हाल भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री प्रतिभा रावल को सचिवालयमा कार्यरत छिन्। मन्त्री रावललाई वर्तमान सरकारका प्रभावकारी मन्त्रीमध्ये एक मानिए पनि उनका कामको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको भन्दै आकांक्षाले सचिवालयबाट त्यो भूमिका निर्वाह गर्दै आएकी छन् ।

‘जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै म केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छु, पार्टीलाई नयाँ सोच, नयाँ ऊर्जा र प्रविधिमैत्री संगठन निर्माणमा योगदान दिन चाहन्छु,’ उनले प्रतिनिधिहरूसँग मत माग्दै भनिन् ।
यता, गण्डकी प्रदेशका सन्तोष पन्त पनि केन्द्रीय सदस्य पदका बलिया दाबेदारका रूपमा मैदानमा छन्। रास्वपाको केन्द्रीय ‘ र्याट’ विभागमा सचिवको जिम्मेवारी सम्हालिसकेका पन्तले अब पार्टीको संगठनात्मक नेतृत्व तहमा रहेर काम गर्ने योजना सुनाएका छन्।

‘विभागीय संरचनामा बसेर काम गरें, अब पार्टी संगठनमै रहेर थप जिम्मेवारीका साथ योगदान दिन चाहन्छु, प्रतिनिधिहरूको साथ र विश्वासको अपेक्षा गरेको छु,’ पन्तले महाधिवेशनस्थलमा मत माग्दै भने ।
प्रतिक्रिया दिनुहोस