काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका र भक्तपुरस्थित काठमाडौ मेडिकल कलेज(केएमसी) बीच स्थानीय नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार सुनकोसी गाउँपालिकाका स्थानीयले केएमसी अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । गाउँपालिकामा बसोबास गर्ने बिरामीलाई अस्पताल सेवामा प्राथमिकता दिँदै उपचार सहज बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा उल्लेख भएअनुसार बिरामी दर्ता (ओपीडी कार्ड) निःशुल्क उपलब्ध गराइनेछ भने अस्पतालका विभिन्न सेवामा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । सामान्य बेड शुल्कमा २५ प्रतिशत र क्याबिन शुल्कमा १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख गरिएको छ ।
त्यस्तै आईसीयू, एचडीयू, सीसीयू तथा ओटी सेवा शुल्क, प्रयोगशाला परीक्षण, सीटी / एमआरआई, एक्स–रे, यूएसजी, डेन्टल एक्स–रे, ईसीजी, इन्डोस्कोपी÷कोलोनोस्कोपी, डायग्नोस्टिक प्रक्रिया तथा फिजियोथेरापी सेवामा समेत २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख छ ।
डेन्टल उपचारअन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ र प्रोस्थेसिसमा पनि सामग्री खर्च बाहेक २५ प्रतिशत छुट दिइनेछ । यस्तै ईआरसीपी, एमआरसीपी र क्याथ ल्याब सेवामा पनि छुटको व्यवस्था गरिएको अध्यक्ष तिमिल्सिनामले बताए । क्याथ ल्याबका सामग्री (स्टेन्ट, गाइड वायर, बेलुन लगायत) र ट्रान्सप्लान्ट सेवामा भने छुट लागू नहुने उल्लेख छ ।
सम्झौताअनुसार नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक उपचार, ज्येष्ठ नागरिक तथा औषधि उपचार कोष लगायतका सेवामा भने सम्बन्धित सरकारी नियमअनुसार नै सुविधा प्राप्त हुनेछ । सम्झौताको अवधि २०८३ असार ३० गतेसम्म रहनेछ । आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा यसको नवीकरण वा संशोधन गर्न सकिने व्यवस्था गरिएको छ ।
सुनकोसी गाउँपालिकाका तर्फबाट सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना र अस्पतालको तर्फबाट प्रशासकीय प्रबन्धक अर्चना थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पछि गाउँपालिकाबासीलाई केएसमी अस्पतालमा उपचारका लागि सजिलो भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
गाउँपालिका भित्रका सबै वडाहरुमा पनि यो सम्झौता अनुसार सहुलीयत पाउने सुनकोशी–७ का अध्यक्ष इश्वर तिमिल्सिनाले जानकारी दिए । केएमसी अस्पताल र गाउँपालिका बिच स्वास्थ्य उपचारमा सहुलियतको सम्झौताका लागि सुनकोशी–७ का स्थानीय देउता तिमिल्सिना लगायतले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस