काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकप्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ ।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा मजबुत सुरुवात गरेको हो ।
छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेस्सीले पहिलो पटक विश्वकपमा ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
खेलको सुरुवातमै मेस्सीले गरेको एक गोल अफसाइडका कारण मान्यता पाएन भने अल्जेरियाले पनि अफसाइडकै कारण एक गोल गुमाएको थियो ।
यस जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह ‘जे’ को शीर्ष स्थानमा उक्लिएको छ । मेसीले यो खेलमार्फत विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बराबरी गरेका छन् । उनले १६ गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी गरेका हुन् ।
सन् २००६ मा विश्वकप डेब्यु गरेका मेस्सीले यससँगै छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । उनले पाँच वटा विश्वकपमा लगातार गोल गर्दै आएका छन् भने लगातार पाँच विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि बनाएका छन् ।
चार वर्षअघि कतारमा मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो। अल्जेरियाविरुद्धको खेल उनको विश्वकप करियरको २७औँ खेलसमेत बनेको छ ।
प्रतिक्रिया दिनुहोस