काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा फर्किएको नर्वेले विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टनमा बुधबार बिहान भएको समूह ‘आई’ अन्तर्गतको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्यो ।
नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने । उनले दुई गोल गरे भने लियो ओस्टिगार्डले एक गोल थपे। नर्वेले अर्को गोल इराकको आत्मघाती गोलमार्फत प्राप्त गर्यो । इराकका आयमन हुसेनले टोलीका लागि एकमात्र गोल फर्काए ।
खेलको २९औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । १० मिनेटपछि हुसेनले गोल गर्दै इराकलाई खेलमा फर्काए । तर पहिलो हाफ सकिनुअघि ४३औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफमा नर्वेले आफ्नो दबाब कायम राख्यो । ७६औँ मिनेटमा ओस्टिगार्डले हेडमार्फत गोल गर्दै अग्रता फराकिलो बनाए । इन्जुरी समयको छैटौँ मिनेटमा इराकबाट आत्मघाती गोल भएपछि नर्वे ४–१ को सहज जित निकाल्न सफल भयो ।
जितसँगै नर्वेले ३ अंक जोड्दै समूह ‘आई’ को शीर्ष स्थान कब्जा गरेको छ । समान ३ अंक भएको फ्रान्स गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । इराक र सेनेगल भने अंकविहीन छन् ।
नर्वेले यसअघि सन् १९९८ पछि विश्वकप खेल्न सकेको थिएन। त्यतिबेला अन्तिम १६ सम्म पुगेको नर्वेले यसपटक विजयी पुनरागमन गर्दै आफ्नो अभियान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस