विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलताको प्रभाव मोरङको शैक्षिक क्षेत्रमा पनि परेको छ ।
सुरक्षा जोखिम र यातायात सञ्चालनमा देखिएको अनिश्चितताका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेजले पठनपाठन स्थगित गरेका छन् ।
विराटनगर महानगरपालिकाले औपचारिक रूपमा बिदा घोषणा नगरे पनि विद्यालय बस सञ्चालनमा समस्या आउन सक्ने अवस्था र विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै अधिकांश शैक्षिक संस्थाले आफ्नै निर्णयमा कक्षा सञ्चालन नगरेका हुन् ।
महानगरको शिक्षा महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलले विद्यालय बिदासम्बन्धी कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारे । उनका अनुसार सुरक्षा अवस्था र यातायातमा देखिएको असहज परिस्थितिलाई ध्यानमा राख्दै अधिकांश विद्यालयले पठनपाठन स्थगित गरेका छन् ।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए। घटनापछि सोमबार विराटनगरमा प्रदर्शन भएको थियो, जसको प्रभाव मंगलबार शैक्षिक क्षेत्रमा पनि परेको हो ।
विराटनगरस्थित शिक्षादीप कलेजका प्राचार्य ज्ञानबहादुर खड्काका अनुसार बजार बन्दको आह्वान, सुरक्षा संवेदनशीलता र यातायात सञ्चालनमा देखिएको चुनौतीका कारण कक्षा सञ्चालन गर्न सम्भव भएन । देवानगञ्ज, हरिनगर, दुहबीलगायत क्षेत्रबाट ठूलो संख्यामा विद्यार्थी अध्ययनका लागि विराटनगर आउने भएकाले ती क्षेत्रमा विद्यालय बस सञ्चालन गर्न नसकिएको उनले बताए ।
प्रभावित क्षेत्रमा निषेधाज्ञासमेत लागू भएकाले विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै मंगलबारका सबै कक्षा स्थगित गरिएको उनले जानकारी दिए । केही विद्यार्थी उपस्थित हुन नसक्ने अवस्थामा विद्यालय सञ्चालन गर्नु पनि उपयुक्त नहुने उनको भनाइ छ ।
खड्काले बन्द, हड्ताल र आन्दोलनबाट शैक्षिक क्षेत्रलाई सकेसम्म बाहिर राख्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता गतिविधिले नियमित शैक्षिक तालिकामा प्रत्यक्ष असर पार्ने बताए। सार्वजनिक बिदा र पटक–पटकका अवरोधका कारण निर्धारित पाठ्यक्रम समयमै सम्पन्न गर्न विद्यालयमाथि थप दबाब परेको उनको भनाइ छ ।
प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोलका अनुसार विराटनगरका अधिकांश निजी विद्यालयले पनि मंगलबार कक्षा सञ्चालन गरेका छैनन् । बजार बन्द र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जोखिम मोल्न नसकिने निष्कर्षमा विद्यालयहरू पुगेका हुन् ।
उनले प्रदेश राजधानी विराटनगरका शैक्षिक संस्था प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गर्दै बारम्बारको बन्दले शैक्षिक क्यालेन्डर प्रभावित भइरहेको बताए । यस्ता अवस्था लामो समयसम्म दोहोरिन नदिन सम्बन्धित निकायले प्रभावकारी वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
डंगोलका अनुसार मोरङमा प्याब्सनसँग आबद्ध करिब २५० निजी विद्यालय सञ्चालनमा छन् । विगतका बिदा र विभिन्न अवरोधका कारण कतिपय विद्यालयले निर्धारित पाठ्यक्रम पूरा गर्न वर्षे बिदासमेत छोट्याएर कक्षा सञ्चालन गरिरहेका छन् ।
उता, देवानगञ्ज र हरिनगर गाउँपालिकाले घटनाको शोकमा मंगलबार सार्वजनिक बिदा दिएका छन् । प्रदर्शन र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै ती क्षेत्रका शैक्षिक संस्था पनि बन्द रहेका छन् ।
स्थानीय प्रशासनले सम्भावित अप्रिय घटना रोक्न प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस