काठमाडौं । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने समझदारी अन्तिम चरणमा पुगेसँगै अब कुन प्रदेशको नेतृत्व कुन दलले गर्ने भन्ने विषय राजनीतिक वृत्तमा मुख्य बहस बनेको छ ।
सात प्रदेशमध्ये दुवै दलले तीन–तीन वटा प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरी छलफल अघि बढाएको स्रोतहरूको दाबी छ ।
यद्यपि, संघीय राजधानी रहेको वागमती प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषय भने अझै टुंगिएको छैन। एमाले र नेकपा दुवैले यो प्रदेशमा दाबी कायम राखे पनि नेकपाले वागमतीलाई आफ्नो ‘बटमलाइन’ बनाएको स्रोतको भनाइ छ । एमालेभित्र पनि प्रदेश नेतृत्व आफैंले पाउनुपर्ने भन्दै केन्द्रीय नेतृत्वमाथि दबाब बढिरहेको बताइन्छ ।
नेकपा वागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले भने छलफल सकारात्मक दिशामा अघि बढिरहेको प्रतिक्रिया दिएका छन्
‘अहिले छलफलकै क्रममा छ,बेलुकीसम्म केही निर्णय आउला भन्ने अपेक्षा छ । उनले भने–‘अहिले नै सबै विषय टुंगिएको छैन ।’
वागमती नेकपाले पाए सरल स्वाभाविक दाबेदार
यदि वागमती प्रदेशको नेतृत्व नेकपाले पाउने सहमति भयो भने मुख्यमन्त्रीका लागि प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल स्वाभाविक दाबेदारका रूपमा अगाडि देखिएका छन्।
सिन्धुपाल्चोक–१ (प्रदेश सभा ‘ख’) बाट निर्वाचित पौडेल हाल नेकपा वागमती प्रदेश कमिटीका अध्यक्ष हुन् । पार्टीभित्र उनको बौद्धिक क्षमता, संगठन निर्माणमा भूमिका तथा लामो राजनीतिक संघर्षलाई आधार मान्दै उनी नेतृत्वका लागि उपयुक्त पात्र भएको नेकपाका नेताहरूको दाबी छ ।
‘सरल लामो समय भूमिगत राजनीति गरेका, शहीद परिवारसँग जोडिएका र अवसरबाट वञ्चित हुँदै आएका नेता हुन्। त्यसैले उनको दाबी स्वाभाविक छ,वागमती प्रदेशका एक नेकपा सांसदले भने ।
यद्यपि, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्रीका दाबेदार रहने सम्भावना उत्तिकै बलियो देखिन्छ । जम्कट्टेल २०७९ पुस २५ गते वागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि उनले २०८१ सालमा पदबाट राजीनामा दिएका थिए ।
एमालेबाट थपलिया र किरण थापा प्रमुख प्रतिस्पर्धी
यदि वागमती प्रदेश एमालेको भागमा पर्यो भने संसदीय दलका नेता जगन्नाथ थपलिया र पूर्व स्वास्थ्यमन्त्री किरण थापा मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा हेरिएका छन् ।
संसदीय दलको नेता भएकाले थपलियाको दाबी स्वाभाविक रहेको एमाले वागमती प्रदेश कमिटीका एक सदस्य बताउँछन् ।
त्यस्तै, इन्द्र बानियाँ नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीका रूपमा प्रभावकारी काम गरेको मूल्यांकन र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्बन्धका कारण किरण थापाको सम्भावना पनि बलियो रहेको एमाले स्रोतको भनाइ छ ।
भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीको व्यवस्थापनदेखि पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापाले इमान्दार नेताको छवि बनाएकाले नेतृत्वको अवसर पाए उनको सम्भावना अझ बलियो रहेको ती नेताले बताए ।
एमाले–नेकपा वार्ता सकारात्मक, साझा घोषणा सम्भव
श्रीलंकाबाट फर्किएपछि नेकपा संयोजक पुष्पकमल दाहालले एमाले नेतृत्वसँग भेटघाटलाई तीव्र बनाएका छन्। दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एक चरणको भेटवार्ता भइसकेको छ ।
वार्तालाई नेकपाका तर्फबाट वर्षमान पुन र प्रमेश हमाल तथा एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले सहजीकरण गरिरहेका छन् ।
एमालेका एक नेताले भने–‘छलफल सकारात्मक ढंगले अघि बढिरहेको छ ,आज–भोलिमै दुई अध्यक्ष वा दुवै दलका पदाधिकारीको संयुक्त वक्तव्य आउन सक्छ ।’
उनका अनुसार प्रदेश सरकारमा सहकार्यबाट सुरु हुने समझदारी स्थानीय तह निर्वाचनसम्म पुग्ने र आवश्यक परे पार्टी एकीकरणसम्मको विषयमा समेत प्रारम्भिक छलफल भइरहेको छ ।
अन्य प्रदेशको चित्र कस्तो?
वागमतीबाहेक अन्य प्रदेशको नेतृत्वबारे पनि दुवै दलबीच मोटामोटी समझदारी बनेको स्रोतहरूको दाबी छ ।
एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा विशेष रुचि नदेखाएको एमाले स्रोत बताउँछ । हालका मुख्यमन्त्री हिक्मत कार्कीले ओली नेतृत्वबाट बिदा लिनुपर्ने अभिव्यक्ति दिएपछि कोशीमा एमाले नेतृत्वको प्राथमिकता घटेको ती नेताको भनाइ छ ।
स्रोतका अनुसार प्रारम्भिक छलफलमा एमालेले गण्डकी, लुम्बिनी र कर्णाली को नेतृत्व गर्ने प्रस्ताव राखेको छ ।
नेकपाले वागमती, सुदूरपश्चिम र कर्णालीमा दाबी कायम राखेको छ ।
प्रदेशहरूको अन्तिम बाँडफाँट दुई दलका शीर्ष नेताबीच हुने औपचारिक सहमतिपछि मात्रै सार्वजनिक हुने स्रोतहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस