२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गर्नेछौँ : मन्त्री यादव

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गरिने बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) द्वारा आयोजित पाँचौँ नेपाल ‘फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, “सरकारले सन् २०१५ देखि लागू भएको ‘फ्री भिसा फ्री टिकट’ नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्था गरिनेछ ।” प्रस्तावित ऐन स्वीकृत भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र अनुगमनयोग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटलीकरण गरिने मन्त्री यादवले जानकारी दिए । 

आफ्नो १०० दिने कार्यकालको अनुभव आदानप्रदान गर्दै मन्त्री हुनुअघि यो नीतिको कार्यान्वयनमा समस्या देखेको बताउँदै मन्त्री यादवले अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा आइओएमका तर्फबाट नेपालकी नियोग प्रमुख हेलेन फोर्सले नेपालले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा उत्कृष्ट नेतृत्व प्रदर्शन गरिरहेको बताए । 

उनले भने, “नेपालले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि विश्वव्यापी मञ्चहरूमा आफ्नो प्रतिबद्धतालाई राष्ट्रिय कार्ययोजनामा उतार्दै बलियो नेतृत्व देखाएको छ ।”

उनले आइओएम नेपाल सरकारको यो यात्रामा सँगै काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । कार्यक्रममा फिलीपिन्सको आप्रवासी श्रमिक विभाग (डिएम्डब्लु) का सहायक सचिव जेरोम अल्कान्तराले सन् २०२० को भर्ती शुल्कसम्बन्धी सर्वेक्षणअनुसार फिलिपिनो कामदारहरूले भर्ती एजेन्सीलाई औसतमा एक दशमलव दुई महिनाको तलब बराबर शुल्क तिरेका बताए । उनले फिलिपिन्सको न्यायोचित भर्ना प्रक्रिया कानुनी, निष्पक्ष र पारदर्शी भएको उल्लेख गरे ।

यसैबीच, श्रमिकहरूको समस्या समाधानका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागमार्फत ‘उजुरी डट डिओएफइ’ नामक अनलाइन प्लेटफर्म सुरु गरेको छ । कार्यक्रममा मन्त्री यादवले श्रमिकहरूले वैदेशिक रोजगारीमा जान चर्को ब्याजमा ऋण लिने, जग्गा जमिन बेच्ने वा श्रीमतीको गरगहना धितो राख्ने बाध्यात्मक अवस्था प्रस्तुत गरे । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गरिएको एक अध्ययनका क्रममा धेरै श्रमिकले रोजगारी गुम्ने डरले आफूले तिरेको वास्तविक रकम बताउनसमेत डराएका पाइएको उनले उल्लेख गरे ।  हाल नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब सात प्रतिशत मात्र नैतिक रूपमा (विना शुल्क) भर्ना भइरहेका अनुमान छ । 

सरकारको अन्तिम लक्ष्य १०० प्रतिशत ‘एम्प्लोयर पे’ (रोजगारदाताले नै खर्च बेहोर्ने) ढाचामा पुग्नु रहेको मन्त्री यादवले स्पष्ट पारे । यसका लागि म्यानपावर कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धा रोक्ने र प्रत्यक्ष भर्ना प्रक्रियालाई प्रोत्साहन गर्ने रणनीति लिइने उनको भनाइ छ ।

वैदेशिक रोजगारीसम्बन्धी समस्या नेपाल एक्लैले समाधान गर्न नसक्ने बताउँदै मन्त्री यादवले फिलिपिन्स जस्ता देशका असल अभ्यासहरू सिक्न र सरोकार भएकाहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

उनले सम्मेलनबाट आउने व्यावहारिक सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।  कार्यक्रममा आप्रवासनको गुणस्तर, न्यायिक भर्ना (इथिकल रिक्रुट्मेन्ट) र भविष्यको योजनाबारे छलफल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट