२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

मेस्सी फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित

बुधवार , श्रावण ६, २०८३

काठमाडौँ । अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ ।

विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआइपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताए । जसमा मेस्सीले कुल एक हजार १७९ अङ्क प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अङ्क) र इङ्ल्यान्डका जुड बेलिङ्घम (४७० अङ्क) लाई पछि पारेका थिए ।

एआईपीएसले आयोजना गरेको मतदानमा एआईपीएस कार्डधारी खेल पत्रकारहरू तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकारहरू मतदाता रहेका थिए । उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताको आधारमा छनोट गरेका हुन् ।

मतदान प्रणालीअनुसार पहिलो स्थानका खेलाडीले पाँच अङ्क, दोस्रो स्थानले तीन अङ्क र तेस्रो स्थानले एक अङ्क प्राप्त गरेका थिए । जुलाई १३ मा सार्वजनिक गरिएको अन्तिम सूचीमा २० खेलाडी समावेश थिए । विश्वभरका खेल पत्रकारहरूको मतका आधारमा लियोनल मेस्सीलाई फिफा विश्वकप २०२६ को एआईपीएस उत्कृष्ट खेलाडी घोषित गरिएको हो ।

लियोनल मेस्सी

उनन्चालीस वर्षीय मेस्सी विश्वकपको इतिहासमा छ संस्करण खेल्ने तीन खेलाडीमध्ये एक बन्दै २०२६ को विश्वकपमा सहभागी भएका थिए । लगातार दोस्रो विश्वकप उपाधिबाट उनी एक जितले मात्र टाढा रहे पनि उनले आफ्नो उमेरलाई चुनौती दिने अद्भुत प्रदर्शनमार्फत विश्व फुटबललाई फेरि एकपटक मोहित बनाउन सफल भए ।

विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि मेस्सी निकै भावुक बनेका थिए । अर्जेन्टिनी समर्थकहरूले उनको नाम गुञ्जाइरहँदा उनी आँसुमा डुबेका थिए । उनले सोमबार इन्स्टाग्राममार्फत भनेका थिए, “यो पीडा असाध्यै ठूलो छ । यो घाउ निको हुन समय लाग्नेछ । तर हामीले अन्तिमसम्म दिएको सङ्घर्ष, असम्भवजस्ता खेललाई जितमा बदल्दै सिर्जना गरेका अविस्मरणीय क्षणहरूलाई म सधैं सम्झिरहनेछु ।”

सन् २०२६ को विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनेल स्कालोनीको टोलीका लागि मेस्सी वास्तविक धड्कन बने । विशेषगरी निर्णायक क्षणहरूमा उनले टोलीलाई नेतृत्व प्रदान गरे । आठ खेलमा आठ गोल र चार असिस्ट गर्दै उनले अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

अर्जेन्टिनाले प्रतियोगिताभर कठिन अवस्थाबाट खेललाई आफ्नो पक्षमा पार्ने र अतिरिक्त समयमा सङ्घर्ष गरेर जित निकाल्ने कला प्रदर्शन गरेको थियो, जसको केन्द्रमा मेस्सी नै थिए ।

ऐतिहासिक कीर्तिमानहरू

मेस्सीले २०२६ को विश्वकपपछि आफ्नो नाममा अनेकौँ कीर्तिमान थपेका छन् । पुरुष र महिला दुवै विश्वकपलाई समेट्दा उनी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । विश्वकपमा उनको कूल गोल सङ्ख्या २१ पुगेको छ भने किलियन एम्बाप्पेको २२ गोल रहेको छ ।

त्यस्तै विश्वकप इतिहासमा सर्वाधिक १२ असिस्ट गर्ने खेलाडी पनि उनी नै हुन् । उनको नाममा थुप्रै कीर्तिमानहरू पनि छन् । उनी विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने, विश्वकपमा सर्वाधिक २३ खेल जित्ने, नकआउट चरणमा सर्वाधिक १७ खेल खेल्ने, लगातार नौ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान तथा किशोरावस्था २० र ३० को दशकमा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी हुन् ।

छ पटकको विश्वकप यात्रामा मेस्सीले अर्जेन्टिनालाई तीन पटक फाइनलमा पुर्‍याएका छन् । अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जित्दा मेस्सीले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । विश्वकपमा एकभन्दा बढी पटक गोल्डेन बल जित्ने उनी एकमात्र खेलाडी हुन् । यस पटक (२०२६) को विश्वकपमा  उनले सिल्भर बल पुरस्कार प्राप्त गरेका थिए ।

किलियन एम्बाप्पे

सत्ताइस वर्षीय फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । उनले प्रतियोगितामा १० गोल गर्दै तीन विश्वकपमा आफ्नो कूल गोल सङ्ख्या २२ पुर्‍याए र विश्वकप इतिहासको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए ।

सन् २०१८ को विश्व च्याम्पियन तथा २०२२ को उपविजेता फ्रान्सले यस पटक पदकविहीन रूपमा प्रतियोगिता समाप्त गर्‍यो । विश्वकपमा इङ्ल्यान्डसँगको रोमाञ्चक तेस्रो स्थानको खेलमा फ्रान्स ६–४ ले पराजित भएको थियो ।

यद्यपि उक्त खेलमा दुई गोल गरेका एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै विश्वकप इतिहासमा दुई पटक सर्वाधिक गोलकर्ता बन्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरे । उनले आफूलाई विश्व फुटबलका महान् स्ट्राइकरहरूमध्ये एकका रूपमा थप स्थापित गरेका छन् ।

जुड बेलिङ्घम

विश्व फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिने जुड बेलिङ्घम २०२६ को विश्वकपमा इङ्ल्यान्डका नायक बने । उनले सात गोल गर्दै आफ्नो टोलीलाई तेस्रो स्थान दिलाए । विश्वकप इतिहासमा कुनै मिडफिल्डरले गरेको यो सर्वाधिक गोल हो । २३ वर्षीय बेलिङ्घमले एकै विश्वकप संस्करणमा सर्वाधिक गोल गर्ने इङ्लिस खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । 

अन्तिम १६ मा मेक्सिकोविरुद्ध तथा क्वार्टरफाइनलमा नर्वेविरुद्ध दुई–दुई गोल गर्दै उनले सन् १९८६ मा डिएगो म्याराडोनापछि लगातार दुई नकआउट खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट