• दीपेश कुमार थपलिया
आज जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस हो। बीपीलाई सम्झनु भनेको उहाँको तस्बिरमा फूल चढाउनु वा औपचारिक कार्यक्रम गर्नु मात्र होइन। उहाँले स्थापित गर्नुभएको लोकतान्त्रिक संस्कार, विधिको शासन, संस्थाप्रतिको आस्था, राजनीतिक इमानदारी र फरक मतप्रतिको सम्मानलाई व्यवहारमा उतार्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो।
विडम्बना, यस वर्ष नेपाली कांग्रेसभित्र बीपी स्मृति दिवस दुई फरक समूहद्वारा छुट्टाछुट्टै रूपमा मनाइयो।
एउटै आदर्शका उत्तराधिकारी दाबी गर्ने नेताहरू फरक-फरक मञ्चमा उभिँदा एउटा स्वाभाविक प्रश्न उठ्छ-हामी बीपीको नामको राजनीति गरिरहेका छौँ कि उहाँले देखाएको लोकतान्त्रिक संस्कारलाई व्यवहारमा उतारिरहेका छौँ?
एउटै आदर्शका उत्तराधिकारी दाबी गर्ने नेताहरू फरक-फरक मञ्चमा उभिँदा एउटा स्वाभाविक प्रश्न उठ्छ-हामी बीपीको नामको राजनीति गरिरहेका छौँ कि उहाँले देखाएको लोकतान्त्रिक संस्कारलाई व्यवहारमा उतारिरहेका छौँ?
नेपालको राजनीति अहिले नयाँ मोडमा छ। बदलिएको जनमतले परम्परागत राजनीतिक शैलीमाथि प्रश्न उठाएको छ। जनताले व्यक्तिपूजाभन्दा संस्थागत नेतृत्व, गुटगत स्वार्थभन्दा विधिको शासन र सत्ताभन्दा जनउत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने स्पष्ट सन्देश दिएका छन्। यही परिवेशमा नेपाली कांग्रेसले पनि आफूलाई समयअनुकूल रूपान्तरण गर्नु आवश्यक बनेको थियो।
यही सन्दर्भमा पार्टी विधानले व्यवस्था गरेबमोजिम विशेष महाधिवेशनको माग अघि बढ्यो। त्यसलाई कुनै व्यक्ति वा गुटविरुद्धको अभियानका रूपमा होइन, पार्टीलाई संस्थागत निकास दिने वैधानिक प्रयासका रूपमा बुझ्नुपर्छ। सोही प्रक्रियाअन्तर्गत विशेष महाधिवेशन सम्पन्न भयो र नयाँ नेतृत्व चयन गरियो।
लोकतान्त्रिक दलमा कुनै पनि व्यक्ति विधानभन्दा माथि हुन सक्दैन, र संस्थागत निर्णय नै अन्ततः सबैले सम्मान गर्नुपर्ने आधार हो। त्यसैले वैधानिक प्रक्रियाबाट आएको नेतृत्वलाई व्यक्तिगत जित वा हारका रूपमा होइन, संस्थागत निर्णयका रूपमा स्वीकार गर्नु लोकतान्त्रिक संस्कारको आधारभूत शर्त हो। असहमति लोकतन्त्रको स्वाभाविक पक्ष हो, तर विधिसम्मत प्रक्रियाबाट आएको निर्णयलाई निरन्तर अस्वीकार गर्दै जानु संस्थाप्रतिको विश्वासलाई कमजोर बनाउने जोखिम हुन्छ।
विशेष महाधिवेशनप्रति असहमति राख्ने पक्षको आफ्नो राजनीतिक दृष्टिकोण हुन सक्छ। तर लोकतान्त्रिक अभ्यासको सफलता अन्ततः प्रक्रियामाथिको विश्वासमा निर्भर हुन्छ। यदि विधानअनुसार भएका निर्णयसमेत स्वीकार गर्न कठिन हुने अवस्था सिर्जना भयो भने भविष्यमा कुनै पनि संस्थागत निर्णयले स्थायित्व पाउन सक्दैन। त्यसको असर नेतृत्वमा मात्र होइन, पार्टीको एकता, विश्वसनीयता र लोकतान्त्रिक संस्कारमै पर्न सक्छ।
यहीँ बीपी कोइरालाको राजनीतिक दर्शनको सान्दर्भिकता अझ प्रस्ट हुन्छ। उहाँका लागि लोकतन्त्र केवल निर्वाचन जित्ने माध्यम थिएन; त्यो विचारको स्वतन्त्रता, विधिको शासन, संस्थाको सर्वोच्चता र राजनीतिक सहिष्णुताको जीवन्त अभ्यास थियो। फरक मतलाई सम्मान गर्दै संस्थागत निर्णयलाई स्वीकार गर्ने परिपक्वता नै लोकतन्त्रको वास्तविक शक्ति हो भन्ने सन्देश उहाँको सम्पूर्ण राजनीतिक जीवनले दिन्छ।
आज नेपाली कांग्रेस संसदमा संख्यात्मक रूपमा सानो शक्ति हुन सक्छ, तर लोकतन्त्रमा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक जिम्मेवारी अझै उसकै काँधमा छ। जनताले कांग्रेसबाट अन्तहीन आन्तरिक विवाद होइन, सरकारमाथि प्रभावकारी खबरदारी, लोकतान्त्रिक मूल्यको रक्षा र देशलाई स्पष्ट वैकल्पिक राजनीतिक दिशा दिने परिपक्व नेतृत्वको अपेक्षा गरेका छन्।
आज नेपाली कांग्रेस संसदमा संख्यात्मक रूपमा सानो शक्ति हुन सक्छ, तर लोकतन्त्रमा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक जिम्मेवारी अझै उसकै काँधमा छ। जनताले कांग्रेसबाट अन्तहीन आन्तरिक विवाद होइन, सरकारमाथि प्रभावकारी खबरदारी, लोकतान्त्रिक मूल्यको रक्षा र देशलाई स्पष्ट वैकल्पिक राजनीतिक दिशा दिने परिपक्व नेतृत्वको अपेक्षा गरेका छन्।
बीपी स्मृति दिवसको सन्देश स्पष्ट छ-लोकतन्त्र भाषणले होइन, व्यवहारले बलियो हुन्छ। कांग्रेसले यदि साँच्चै बीपीलाई सम्मान गर्न चाहन्छ भने उहाँको नामभन्दा उहाँको लोकतान्त्रिक संस्कारलाई ठूलो बनाउनुपर्छ। समय बदलिएको छ, र त्यससँगै जनताको अपेक्षा पनि बदलिएको छ।
अब कांग्रेसले विधान, संस्थागत प्रक्रिया र जनचाहनाअनुसार आफूलाई निरन्तर रूपान्तरण गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ। किनभने लोकतान्त्रिक राजनीतिमा जनविश्वासभन्दा ठूलो पूँजी अर्को हुँदैन।
प्रतिक्रिया दिनुहोस