२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

‘देश बर्बाद हुन सक्छ’ : पार्टी एकता होइन,  अब संयुक्त आन्दोलन – दाहाल

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश राष्ट्रिय स्वाधीनता, संविधान र जनअधिकारमाथि चुनौती थपिँदै गएको दाबी गर्दै तत्काल पार्टी एकताभन्दा वामपन्थी शक्तिबीच साझा आन्दोलन र कार्यगत एकता आवश्यक रहेको बताएका छन्। 

उनले वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा चित्रण गर्दै चीनसँग सम्बन्धित संवेदनशील विषयदेखि सडक आन्दोलनसम्मका मुद्दामा खुला धारणा राखेका छन् भने आफ्नै पार्टीको विगतको राजनीतिक रणनीतिमाथि पनि आत्मसमीक्षा गरेका छन् ।

४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेपालमा चीनविरोधी गतिविधि हुन नदिने विषयमा विगतदेखि सबै दल एकमत रहँदै आएको स्मरण गराउँदै पछिल्लो समय त्यसको उल्लङ्घन भएको आरोप लगाए ।

26dd455e-e4ff-4367-80fc-818dd40bbe95.jpg

उनले दलाइ लामाको जन्मोत्सव मनाइएको प्रसंग उल्लेख गर्दै अब नेपालमै नयाँ दलाइ लामा जन्माउने प्रयास भइरहेको भन्ने चर्चा चल्न थालेको दाबी गरे ।

उनले राष्ट्रिय स्वाधीनतासँगै संविधान, गणतन्त्र र उत्पीडित समुदायले प्राप्त गरेका अधिकारमाथि समेत आक्रमण भइरहेको टिप्पणी गरे। यस्तो अवस्थामा वामपन्थी शक्तिहरूबीच साझा न्यूनतम कार्यक्रम बनाएर संयुक्त रूपमा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।

प्रचण्डले संसद, सडक र आगामी निर्वाचन—तीनै मोर्चामा संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनतालाई संगठित गर्नुपर्नेमा जोड दिए ।

उनले सबै वामपन्थी दलले आफ्नो क्षमता अनुसार देशभरबाट ठूलो जनसहभागिता जुटाउन सके वर्तमान चुनौतीको सामना गर्न सकिने दाबी गरे ।

उनका अनुसार, एकै दिनमा राजनीतिक परिस्थिति परिवर्तन हुन सक्ने उदाहरण विपक्षीहरूले नै देखाइसकेकाले त्यसबाट पाठ सिक्नुपर्ने समय आएको छ ।

उनले तत्काल कम्युनिस्ट पार्टीहरूबीच औपचारिक एकता सम्भव नरहेको स्पष्ट पारे। हतारमा एकता गरेर फेरि विभाजन दोहोरिने जोखिम रहेको उल्लेख गर्दै उनले अहिलेको प्राथमिकता कार्यगत सहकार्य र साझा आन्दोलन हुनुपर्ने बताए। उनका अनुसार, सहकार्य सफल भए भविष्यमा पार्टी एकताको आधार पनि त्यहीँबाट तयार हुन सक्छ।

प्रदेश सरकार गठनबारे भइरहेको चर्चालाई पनि उनले अस्वीकार गरे। कांग्रेस र एमालेले बाँकी कार्यकाल सरकार सञ्चालन गरून् भन्ने आफ्नो चाहना रहेको बताउँदै उनीहरूबीच समस्या आए मात्र समाधानका लागि सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

प्रचण्डले कार्यक्रममा आफ्नै नेतृत्वको विगतको राजनीतिक यात्रामाथि पनि आत्मसमीक्षा गरे । शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनपछि आफूहरू काठमाडौं र सत्ता समीकरणमै बढी केन्द्रित भएको स्वीकार गर्दै त्यसले दीर्घकालीन राजनीतिक रणनीति कमजोर बनाएको बताए।

उनले जनतामाझ निरन्तर पुग्ने, विचारको स्कुलिङ गर्ने र संगठन निर्माणलाई प्राथमिकता दिन नसक्नु कम्युनिस्ट आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गरे।

उनले अब राष्ट्रिय स्वाधीनताको रक्षा, संविधान र गणतन्त्रको संरक्षण तथा श्रमिक, किसान, गरिब र उत्पीडित समुदायका अधिकारको पक्षमा सबै वामपन्थी शक्तिहरू एकै मोर्चामा उभिनुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान परिस्थितिलाई सामान्य रूपमा लिन नहुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट