२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

आइतवार , मंसिर २, २०८१

फिक्कल (इलाम) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद्भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रममा आज उनले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको बताए ।

मन्त्री पौडेलले स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच हुनेगरी काम गरिरहेको बताए । सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको र सबै नेपालीलाई बिमाभित्र समेट्नेगरी मन्त्रालयले तयारी गरिरहेको बताए । “अहिले स्वास्थ्य बिमाबाट रु एक लाखसम्मको उपचार भइरहेको छ, यसलाई बढाएर रु पाँच लाख बनाउने प्रस्ताव गरिएको छ”, उनले भने, “स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउन श्रोतको सुनिश्चितका लागि आम्दानीका आधारमा बिमा कोषमा योगदान गर्ने व्यवस्था मिलाइनेछ ।”

मन्त्री पौडेलले आमनागरिकले स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउन सरकार निरन्तर लागिपरेको बताए ।

“पाँचवटा अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र आठवटा अस्पतालमा जलन रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । २९ वर्षमाथिका सबैको क्यान्सर र किड्नी परीक्षण गर्ने कार्यक्रम ल्याउँदैछौँ”, उनले भने ।

मन्त्री पौडेलले भवन निर्माण भएका अस्पतालको जनशक्ति र उपकरण व्यवस्थापनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । “जहाँ भवन निर्माण भएका छन् तर उपकण छैनन्, पहिलो प्राथमिकतामा राखेर त्यस्ता अस्पताललाई सहयोग गरिनेछ”, उनले भने, “अहिले मन्त्रालयमा बजेटको शीर्षक छैन, भवन बनेका अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।”

मन्त्री पोडेलले सेवाका आधारमा अस्पतालको वर्गीकरण गरिनेसमेत बताए । अस्पताल शय्याका आधारमा नभई सेवाको आधारमा वर्गीकरण गर्ने तयारी गरेको उनको भनाइ थियो । “सबै सेवा एउटै अस्पतालबाट सम्भव हुँदैन, त्यसैले आधारभूत अस्पतालबाट सम्भव विशिष्टीकृत उपचारका लागि व्यवस्थापनमा लागेका छौँ”, मन्त्री पौडेलले भने ।

चुलाचुलीमा १५ शय्याको अस्पताल उद्घाटन भएको हो । यो अस्पताल सङ्घीय सरकारको रु १२ करोड ९० लाख लागतमा निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट