२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

शनिवार , माघ ५, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् ।

काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् ।

“महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”, स्वास्थ्यमन्त्री पौडेलले भने ।

उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी दिए ।

स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गरे । “हाल स्वास्थ्य विमाको रकम रु एक लाख रहेको छ, हामी त्यसलाई बढाएर रु पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ”, उनले भने ।

छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो । उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रुपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले समाज सेवाको क्षेत्रलाई निरन्तर अगाडि बढाउन उक्त संस्थालाई आग्रह गरे ।

टोखा नगरपालिकाले जनकल्याण सामाजिक केन्द्रलाई अगाडि बढाउन सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताएका थिए ।

विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर तीन सय ५१ पटक रक्तदान, स्वास्थ्यशिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।

अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट