२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बिल गेट्सले अहिलेसम्म परोपकारी संस्थालाई दिए १ खर्ब डलर, अझै सम्पत्ति दान गर्ने तयारीमा

बुधवार , माघ २३, २०८१

बीबीसी । बिल गेट्सले आफ्नो परोपकारी संस्थाले अहिलेसम्म १०० अर्ब दिइसकेको बताएका छन् । बीबीसीसँग गरेको एक अन्तर्वार्तामा उनले संस्थाले जोगिन सकिने रोगबाट जोगाउन र गरिबी कम गर्ने काममा सो रकम दिइएको बताएका हुन् ।

“मैले करिब १०० अर्ब दिइसकेँ” उनले भने, “तर दिनका लागि मसँग अझै धेरै छ।” उनले भनेको रकम डलरमा हो, ८० अर्ब ब्रिटिश पाउन्ड हो। यो भनेको बुल्गेरियाको अर्थतन्त्रको आकार जति हो। उनको दान रकम नेपालको अर्थतन्त्रको आकारको दोब्बर भन्दा बढी हो । गेट्स फोब्र्सको खर्बपतिको सूचीमा विश्वको १८ औं स्थानमा छन् । फोब्र्सका अनुसार उनका कूल सम्पत्ति १ खर्ब ६ अर्ब डलर बढी छ ।

बिल गेट्सले आफ्नी पूर्वपत्नी मेलिन्डा गेट्ससँग मिलेर गेट्स फाउन्डेसन स्थापना गरेका थिए। माइक्रोसफ्टका सह संस्थापक र परोपकारसमेत गर्ने उनका साथी वारेन बफेटले पनि गेट्स फाउन्डेसनमा अर्बौँ योगदान दिएका छन्।

गेट्सले आफूमा परोपकारी भावना सानैबाट रहेको बताए। गेट्सलाई आमाले सधैँ भन्ने गर्थिन् “सम्पत्तिसँगै अरूलाई दिनुपर्ने जिम्मेवारी पनि आउँछ।”

फाउन्डेसनले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव आउँदो मे महिनामा मनाउँदै छ । बिल गेट्सले आफ्नो हिसाबमा आफूले रकम (करिब ६० अर्ब डलर अहिलेसम्म फाउन्डेसनमा गइसकेको छ) दिन रमाउने बताए।

उनले आफ्नो दैनिकि जीवनशैलीमा कुनै फरक पन नआएको बताउँदै उनले भने “मैले व्यक्तिगत रूपमा कुनै त्याग गरेको छैन। मैले आफ्नो खानेकुरा वा चलचित्र हेर्नमा कमी गरेको छैन।” उनको आफ्नै निजी विमान र थुप्रै ठूला घरहरु छन्।

उनका तीन छोराछोरी छन् । उनले आफूसँग भएको “ठूलो हिस्सा” दिने योजना गरेको बताउँदै कति छोड्नु ठिक हुन्छ भनेर उनीहरुसँग कुरा गर्ने गरेको बताए ।

तपाईँको मृत्युपछि उनीहरू गरिब हुनेछन् भन्ने प्रश्नमा उनले फिस्स हाँस्दै भने “औसतमा उनीहरूसँग राम्रो हुनेछ, तर प्रतिशतमा भन्ने हो भने त्यो ठूलो सङ्ख्या होइन।”

गेट्स गणितमा अब्बल हुन् र त्यो देखिन्छ। सियाटलस्थित लेकसाइड स्कुलमा ८ कक्षामा पढ्दा उनले गणितको परीक्षामा चार वटा राज्यसँग क्षेत्रीय प्रतिस्पर्धा गरेका थिए र १३ वर्षको उमेरमा उनी त्यो क्षेत्रकै उत्कृष्ट मध्येका गणितका एक विद्यार्थी थिए।

गणितका शब्दावलीहरू उनलाई सहजै आउँछ। ब्लूमबर्गको अर्बपति सूचीले उनीसँग १६० अर्ब डलर रहेको जनाएको छ। त्यसको थोरै हिस्सा मात्रै उनले आफ्ना सन्तानलाई छोडे भने पनि त्यो धेरै हो।

ब्लूमबर्गका अनुसार संसारमा १०० अर्ब डलरभन्दा बढीको सम्पत्ति हुने १५ जनामध्ये बिल गेट्स एकजना हुन्। हामी उनको सानो हुँदाको घर भएको सियाटलमा छौँ जहाँ मध्य शताब्दीमा चार शयन कक्ष भएको घर छ। उनले यसबारे आफ्नो संस्मरण सोर्स कोडः माइ बिगिनिङ्समा पनि लेखेका छन्।

मूल्यमान्यतामा नमिल्ने हाम्रो पुस्ताको प्रविधि पायोनिअरको हुर्काइबारे र उनलाई के कुराले यस्तो बनायो भन्ने म जान्नँ चाहन्थेँ।

उनले आफूसँगै आफ्नी दिदी क्रिस्टी र बहिनी लीबीलाई पनि ल्याएका थिए। उनीहरूले असाध्यै उत्साही भएर आफू हुर्किएको ठाउँ देखाए। उनीहरू वर्षौँदेखि यहाँ आएका थिएनन् र अहिलेका घरधनीले त्यसको पुनर्निर्माण गरेका थिए। (धन्न, गेट्स र उनका दिदीबहिनीहरूले परिवर्तनहरूमा स्वीकृति दिएको देखियो)

उनीहरू भान्सामा गए र घरका कोठाहरूमा गइरहँदा आफ्ना स्मृतिमा फर्किए। उनीहरूकी आमाले बिहानको नास्ता खानका लागि इन्टरकम प्रणालीबाट उनीहरूलाई बोलाउने गरेको गेट्सले सम्झिए ।

छोरा बिल गेट्सलाई सुधार्ने आमाको प्रयासलाई लिएर उनी विद्रोह गर्थे। तर अहिले भने उनी भन्छन्, “मेरो महत्त्वाकांक्षाको रापलाई त्यो सम्बन्धले न्यानोपन दिएको थियो।”

उनले आफूमा भएको प्रतिस्पर्धी भावको जस आफ्नी हजुरआमा गामीलाई दिन्छन्। हजुरआमाले यही घरमा उनीहरूसँग समय बिताउँथिन् र उनलाई तास खेलमार्फत् प्रतिस्पर्धामा अघि बढ्न सिकाइन्।

उनी काठे भर्‍याङ हुँदै बेसमेन्टमा गए जहाँ उनको सानो छँदाको सुत्ने कोठा छ। अहिले यो एउटा सफा अतिथि गृह हो। तर उनका दिदीबहिनीका अनुसार गेट्स सानो छँदा यहाँ घण्टौँ, वा थुप्रै दिन नै सोचेर बस्ने गर्थे।

एक दिन त्यो कोठा भद्रगोल भएको देखेर उनकी आमा यति धेरै दिक्क भइन् उनले भुईँमा छरिएका लुगाहरू उनका जिद्दी छोराले उनीबाट फिर्ता लिन २५ सेन्ट्स तिर्नुपर्ने बताइन्। “मैले लुगा नै कम लगाउन थालेँ” गेट्सले भने।

यति बेलासम्म उनी कोडिङमा तल्लिन भइसकेका थिए। उनका स्कुलका प्रविधि मन पराउने साथीहरू र उनले त्यहाँको स्थानीय कम्पनीको कम्प्यूटरमा पहुँच पाएका थिए। त्यसको सट्टा उनीहरूले कुनै समस्याबारे पत्ता लगाएर भनिदिनुपर्थ्यो। प्राविधिक क्रान्तिका ती सुरुवातका दिनहरूमा प्रोग्रामिङ सिक्नमा तल्लिन उनी कम्प्युटरमा धेरै समय बिताउन घरमा कसैले थाहा नपाउने गरी रातको समयमा सुत्ने कोठाको झ्यालबाट बाहिर निस्किन्थे।

तपाईँलाई लाग्छ तपाईँ अहिले त्यस्तो गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनले झ्याल खोले। “यो त्यति कठिन छैन”, उनले हाँस्दै भने र झ्यालबाट बाहिर निस्किए। “यो साँच्चै गाह्रो छैन।”

उनी झन्डै ७० वर्षका भए। तर उनी अझै सक्रिय छन् र सफल हुनै चाहन्छन्।

उनी सहज देखिन्थे र यो केवल परिचित वातावरणमा भएर मात्रै होइन। उनले आफ्नो संस्मरणमा पहिलोपटक के खुलासा गरेका छन् भने यदि उनी अहिलेको समयमा हुर्किँदै भए सम्भवतः उनीलाई अटिजम्‌ भएकामा पर्थे होला।

मैले यसभन्दा अगाडि उनीसँग एकपटक मात्रै भेटेको भनेको सन् २०१२ मा हो। उनले त्यतिबेलाको सङ्क्षिप्त अन्तर्वार्तामा मेरो आँखामा बिरलै हेरेका थिए। त्यतिबेला हामीले उनीसँग बालबालिकाको ज्यानै लिन सक्ने रोगहरूबाट जोगाउने आफ्नो उद्देश्यबारे बताएका थिए। अन्तर्वार्ताअगाडि कुनै कुराकानी भएको थिएन। अन्तर्वार्ता सकेपछि उनीमा त्यस्तो कुनै स्पेक्ट्रम त छैन भनेर म घोत्लिएकी थिएँ।

पुस्तकले यसलाई स्पष्ट पारेको छः जुन विषयहरूमा उनलाई चासो थियो तिनमा अत्यधिक ध्यान केन्द्रित गर्न सक्ने क्षमता उनमा छ, उनको स्वाभाव आवेगी छ र उनमा सामाजिक चेत कम छ।

प्राथमिक विद्यालयमै हुँदा आफूले डेलावेयरबारे १७७ पृष्ठको रिपोर्ट तयार पारेका थिए र उनले त्यसको अवस्थाबारे ब्रोशरका लागि लेखेका थिए। यहाँसम्म कि स्थानीय कम्पनीहरूलाई तिनीहरूको वार्षिक रिपोर्टको लागि स्ट्याम्प लगाएर ठेगानामा समेत पठाएका थिए। उनी त्यतिबेला ११ वर्षका थिए।

उनका दिदीबहिनीहरूले उनी फरक भएको आफूलाई थाहा भएको बताए। दिदी क्रिस्टीले आफू उनीबारे ख्याल गर्ने भएको बताइन्। “उ सामान्य बच्चा थिएन आफ्नो कोठामा बसेर सिसाकलम चपाएर बस्थ्यो” उनले भनिन्।

उनीहरू पक्कै पनि नजिक थिए। थेरापिस्ट लिबीले बिल गेट्स आफू स्पेक्ट्रममा छन् भनेको सुन्दा छक्क परेको बताइन्।“बरू छक्क परेको कुरा चाहिँ मलाई यस्तो भएको हुनसक्छ भन्न चाहनु हो,” उनले भनिन्।

गेट्सले औपचारिक रूपमा त्यसबारे निदान नगरिएको र गर्ने योजना पनि नभएको बताए। “मेरो करिअरका लागि सकारात्मक विशेषताहरूले समस्याभन्दा बढी फाइदा पुर्‍याएका छन्,” उनी भन्छन्।

सिलिकन भ्यालीमा न्यारोडाइभर्सिटीको निश्चित रूपमा धेरै प्रतिनिधित्व भएको उनी ठान्छन् किनभने सानै उमेरमा कुनै कुरा गहिरो रूपमा अध्ययन गर्दा त्यसले तपाईंलाई केहि जटिल विषयहरूमा मद्दत गर्छ।

इलोन मस्कले पनि आफू अटिजम स्पेक्ट्रममा रहेको बताएका छन्। टेस्ला, एक्स र स्पेसएक्सका अर्बपति मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिक हुँदै छन्। त्यस्तै मेटाका मार्क जकरबर्ग र एमजनका जेफ बेजोस पनि ट्रम्पले कार्यभार सम्हाल्ने कार्यक्रममा उपस्थित भएका थिए।

गेट्सले मसँग “तपाईं तिनीहरूको उद्देश्यबारे संकीर्ण दृष्टिकोण राख्न सक्नुहुन्छ” , भन्दै आफूले पनि राष्ट्रपतिसँग सम्पर्क गरेको बताए। डिसेम्बर २७ तारिखमा उनीहरूबीच तीन घण्टा लामो रात्रिभोज भएको थियो। त्यसबारे उनले भने, "किनभने उनी विश्व स्वास्थ्य र गरीब देशहरूलाई कसरी मद्दत गर्ने बारेमा निर्णयहरू गरिरहेका छन्, जुन अहिले मेरो सबैभन्दा ठूलो ध्यानको विषय हो।"

उनले सामाजिक सञ्जालबाट बालबालिकालाई जोगाउनुपर्नेबारे पनि बताए। अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई प्रतिबन्ध लगाउने कदम "चलाख कार्य" भनेका छन्।

गेट्सले "सामाजिक सञ्जालले भिडियो गेमिङ्गले भन्दा पनि बढी समय खाने र अरूको स्वीकृतिलाई लिएर तपाईँलाई चिन्ता लाग्न सक्ने," बताउँदै हामीले "यसको प्रयोग कसरी हुन्छ भन्ने बारेमा धेरै सावधान रहनु पर्ने" बताए।

बिल गेट्सको जीवन असाध्यै गरिबीबाट असाध्यै धनी भएको मानिसको जस्तो होइन। उनका बुवा वकिल थिए र उनीहरूका लागि पैसाको त्यस्तो अभाव थिएन। तर उनलाई प्रोत्साहन गर्ने प्रयास स्वरूप निजी विद्यालयमा पठाउनका लागि भने "बुवाको तलबमा अलि बल नै पर्ने गरेको" उनले बताए।

यदि उनीहरूले नपठाएका भए, सायद हामीले बिल गेट्सबारे सुन्ने नै थिएनौँ।

प्रारम्भिक समयका कम्प्युटरमा उनको पहुँच विद्यालयमा भएको टेलिटाइप मसिनबाट भएको हो।

आमाहरूले त्यसका लागि प्रयोग गरिसकेका लुगा वा अन्य सामानहरू कम मूल्यमा बिक्री गरेर पैसा जुटाएका थिए। शिक्षकहरूले त्यस्तो कम्प्युटरको प्रयोग गर्न सकेनन् तर चारजना बिद्यार्थीहरूले त्यसमा रातदिन काम गरे। "कसैले कम्युटर चलाउन नसक्दा हामी त्यसको प्रयोग गर्थ्यौँ," उनले भने।

त्यसको धेरै समयपछि उनले स्कूलका तिनै साथीमध्ये एक पल एलेनसँग मिलेर माइक्रोसफ्ट खोले। उनका सबैभन्दा मिल्ने साथी केन्ट इभान्सको भने १७ वर्षकै उमेर दुर्घटनामा परी मृत्यु भयो। लेकसाइड स्कुल वरपर हिँडिरहँदा हामी तिनै साथीको अन्तिम संस्कार गरिएको क्षेत्रमा हिँड्यौँ र गेट्सले त्यहाँ आफूहरू रोएको सम्झिए।

उनीहरूले सँगै ठूला योजनाहरू बनाएका थिए। कम्प्युटरमा काम नगरेका बेला उनीहरू मानिसका जीवनी पढ्थे र के कारणले सफल हुन्छन् भनेर खोज्थे।

अहिले गेट्सले आफ्नै जीवनी लेखिसकेका छन्। उनको दर्शन के हो ? "तपाईँ को हो भन्ने कुरा धेरै हदसम्म सुरुवातमै हुने गर्छ।"

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट