२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एक करोड लगानीमा पशुपालन, दूध बेचेर मासिक एक लाखसम्म बचत

आइतवार , फाल्गुण १८, २०८१

बागलुङ । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक छन् ।

बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनले यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन् ।

निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बनेका छन् । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गरेको दूध आफैँ बजारीकरण गर्दै आएका छन् ।

“भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ, विसं २०६७ मा जन्मथलो मालिकाबाट तीनवटा भैँसी र एउटा गाई लिएर अमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित एक करोड रुपैयाँ लगानी पुगिसक्यो”, उनले भने, “निरन्तर मेहनत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु ।”

व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आएका छन् । उनले फार्ममा ५२ सम्म गाईभैँसी भएको सुनाए । उनका दुईवटा ठूला गोठमा गाईभैँसी छन् । दैनिक एक सय ६० लिटर दूध उत्पादनपश्चात बजारीकरण गर्दै आएका सापकोटा मासिक पाँचदेखि छ लाख रुपैयाँसम्मको आम्दानी र मासिक एक लाखसम्म बचत गर्दै आएको बताउँछन् ।

पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उनको अनुभव छ । पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ ।

“दूधको बजारीकरणमा समस्या छैन, बागलुङ बजारको घरदैलो र फार्मबाटै बिक्री हुन्छ, हामीले घरदैलोमा पुगेर दूध पुर्याउँदै आएका छौँ, मैले ड्राइ सिजनमा बढी दूध बिक्री गर्दै आएको छु”, सापकोटाले भने, “भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक रूपमा सहयोग गरिरहेका छन्, प्याक्ट परियोजनामार्फत विसं २०७३ मा १० लाख रुपैयाँ अनुदान पाएर एउटा आधुनिक गोठ बनाएको थिएँ, निरन्तरता भएमा सहयोग पनि आउँछ, पछिल्लो समय फार्म स्थापनाका लागि गरिएका राज्यका प्रोत्साहनले किसान हौसिए पनि टिक्न नसकेको पाइयो ।”

उनले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताए । उनले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताए । अहिले बजारमा दूधको मूल्य एक सय २० रुपैयाँ प्रतिलिटर छ । उनी रोजगारीका सिलसिलामा १० वर्ष भारतको मेघालयमा विताएर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट