२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

८ वर्ष साउदी र मलेसियामा बिताए, अहिले पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज

शुक्रवार , फाल्गुण २३, २०८१

सुनसरी । करिब एक दशक लामो वैदेशिक जीवन पछि स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी गर्न सफल भएका छन् ।

इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन् । उनले सानो लगानीबाट पशुपालन र मौरीपालन सुरु गरेका थिए । अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको छ ।

१७ वर्षको उमेरमा बाबुआमा गुमाएका मनराज भन्छन्, “विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गरौं भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालनमा लगानी गरेर सुरू गरेँ ।”

गाईबाख्राबाट व्यवसाय सुरू गरेका उनले पछिल्लो समय मौरीपालन सुरु गरेका छन् । अहिले मौरीबाट राम्रो आम्दानी भइरहेको उनले बताए । “यो व्यवसायले आफू आत्मनिर्भर बनेको जस्तो महसुस भएको छ, आफ्नो व्यवसायले दिने जति आनन्द अरूको नोकरी गर्दा पाइँदैन”, उनले भने, “अहिले यही व्यवसायबाट वार्षिक रूपमा आठदेखि नौ लाख रुपैयाँसम्म कमाइ हुने गरेको छ, घरव्यवहार सबै यही कमाइले पुगेको छ ।”

व्यावसाय सुरू गर्दा चुनौती र अवसर त हुन्छन् नै । गाईपालन गर्दा दूध उत्पादन गरी बिक्री गर्न गाह्रो पो होला बजार नपाइएला भन्ने लागेको थियो तर निकै सहज भएको उनले बताए । “अहिले दैनिक रूपमा ४० देखि ५० लिटरसम्म दूध आफैँले स्थानीय बजार होटल र डेरीमा बिक्रीका लागि पुर्याउने काम गरिरहेको छु”, मनराजले भने।

उनले अगाडि भने, “विदेशमा गएर अर्काको दुःख गर्नुभन्दा आफ्नै देशमा सानोतिनो लगानी गरेर भए पनि राम्रो आम्दानी गर्न सकिन्छ । गाउँमै रोजगारीको सिर्जना पनि हुने अरूलाई पनि रोजगार दिन सकिने आफू लागि पनि रोजगार हुने ।”

मनराजले पशुपालन व्यवसाय सुरू गरेसँगै गाईफार्ममा दुई जना कामदार राखे । गाउँमै रोजगार दिन पाउँदा आफूलाई गर्व महसुस भएको उनले सुनाए । “आठ वर्षदेखि उहाँहरूले काम गर्दै आउनुभएको छ, महिनामा २२ हजार रुपैयाँ काम गरेबापतको तलब दिने गरेको थिए”, पुरीले भने, “पछिल्लो केही महिनाअघि उहाँहरूले काम छाडेपछि अहिले हामी आफैँ परिवार मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ ।”

“गाई र खसीबाख्रालाई दिने घासको खासै दुःख छैन, आफैंले गाईलाई दिने घाँस आफ्नै बारीमा रोपेका छौँ”, उनले भने, “एक बिघा बढी जग्गामा धानखेती गर्ने गरेका छौं । त्यहाँबाट गाईका लागि पराल घाँस आउँछ, घासँको दुःख हुँदैन घाँस बाहिरबाट खासै खरिद गर्न परेको छैन ।” उनका अनुसार खसीबाख्राचाहिँ अझ केही चरन र डालेघाँस बढाएर पाल्न सकियो भने सम्भावना राम्रो छ ।

मनराजले मौरीपालनमा राम्रो आम्दानी हुने देखेपछि एक वर्ष अगाडि चार घार मौरी किनेर सुरू गरेका हुन । अहिले उनीसँग ४० घार बढी मौरी रहेका छन् । उनले भने “सुरूमा हेर्दा मौरीबाट के आम्दानी होला र जस्तो लाग्ने तर विस्तारै घार बढाउँदै लगेँ र यहाँबाट राम्रो आम्दानीको सम्भावना देखेपछि अहिले मौरीपालनलाई अझ बढी प्राथमिकता दिएर सञ्चालन गरिरहेको छु ।”

“मौरीपालन अरूले गरेको देखेर सुरू गरेको हुँ, सम्भावना पनि राम्रो देखेको छु”, उनले भने, “मौरी फूलको सिजनमा भने धेरै उत्पादन गर्न सकिन्छ २२ देखि ३० दिनमा मह काढ्न मिल्छ, उत्पादन पनि धेरै हुन्छ ।” फूल फुल्ने सिजन र स्रोत नहुँदा भने कहिले तीन महिनासम्म समय लाग्ने गरेको उनले बताए ।

मनराजले मौरीको घार गोटाको १४ हजार रुपैयाँमा खरिद गरेर पालिरहेका छन् । एउटा घारमा एक पटक मह काढ्दा छ केजीसम्म उत्पादन हुने गरेको उनले बताए । उनले भने, “बिक्रिका लागि इटहरीकै स्थानीय बजारमा बिक्री गर्दै आएको छु ।”

गाउँमै मौरीपालन र परामर्श तालिम किसानले लिन पाए भने मौरीपालनबाट राम्रै आम्दानी गर्न सकिन्छ । गाउँमा नै उत्पादन गरिएको अग्र्यानिक मह बिक्री गरी राम्रो मूल्य लिन सकिने उनको अनुभव छ । अहिले उनले मह प्रतिकेजि सात सय ५० देखि एक हजार रुपैयाँ सम्ममा घरबाट नै बिक्री गर्ने गरेको बताए ।

मौरीपालन कम लगानीबाट पनि सुरू गर्न सकिन्छ । लगानी गरेर यसलाई राम्रो दिगो आम्दानीका रूपमा गर्न सकिने व्यवसायका रूपमा लिन सकिन्छ । राम्रो व्यवस्थापन बजारको अध्ययनसँगै आधुनिक प्रविधिसँगै सरकारबाट राम्रो अनुदान पाउनसके मौरीपालनबाट पनि आम्दानीको सम्भावना बढ्दै जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट