२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने निर्माण व्यवसायी प्रतिबद्धता

शुक्रवार , फाल्गुण २३, २०८१

कञ्चनपुर । बङ्क–नायल–बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै निर्माण व्यवसायीले काम अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।

सडक निर्माणको ठेक्का लिएको सन्तोषी थेगिम जेभीले पूर्वाधार विकास कार्यालयमा लिखित रुपमा सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र बुझाएको हो । कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर साउदले थालेको दबाबमूलक कार्यक्रमपश्चात् बाध्य भएर निर्माण व्यवसायी सम्पर्कमा आएका हुन् ।

वडाध्यक्ष साउदले पाँच दिनदेखि सडक कालोपत्रको माग गर्दै सडकको प्रवेश बिन्दुमै टेबुल, कुर्सी राखेर वडाको सेवा प्रवाह गरी दबाब दिएका थिए । “सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि दबाबमूलक कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने, “पूर्वाधार विकास कार्यालयदेखि प्रदेशका कार्यालयसम्म पुग्यौँ, अश्वासन पाइने भए पनि काम अगाडि बढाइएन ।”

सडक धुलाम्मेसँगै खाल्डा हुँदा स्थानीय बासिन्दालाई आवतजावतमै समस्या थियो । “स्थानीयले पनि सडक कालोपत्र गराउनका लागि निकै दबाब दिँदै आएकाले रचनात्मक रुपमा आन्दोलनमा उत्रिने निर्णय गर्यौँ”, उनले भने, “कुनै पनि निकायलाई अप्ठ्यारो नपार्ने गरी रचनात्मक दबाबमूलक कार्यक्रम गरी सडकमै बसेर वडाको सेवा दिन थालेपछि चौतर्फी दबाबले निर्माण व्यवसायी सम्पर्कमा आएर काम अगाडि बढाउन सहमत भएका छन् ।”

सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीले प्रतिबद्धतापत्रसहित कार्य गर्न थालेपछि तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगन गरी वडा कार्यालयबाटै सेवाग्राहीलाई सेवा दिन थालिएको वडाध्यक्ष साउदले बताए । उनका अनुसार निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडकमा कालोपत्र गर्नका लागि बेस राख्न गिटी फाल्न सुरु गरेको छ ।

निर्माण कम्पनीले आउँदो चैत २० गतेसम्म निर्माण कार्यको बजेट उपलब्ध भएअनुसार सडकमा बेस जम्मा गर्ने र चैत २१ गतेदेखि सडकमा कालोपत्रको काम सुरु गर्ने पूर्वाधार विकास कार्यालयलाई पठाएको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

सडक कालोपत्र गर्नका लागि चैतसम्म ठेक्काको म्याद थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र अधिकारीले बताए । थपिएको म्यादभित्रै निर्माण कम्पनीले सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र पठाएको उनले बताए ।

सडक निर्माणका लागि सन्तोषी थेगीम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौता भई विसं २०८१ वैशाखमा म्याद सकिएको थियो । त्यसपछि विसं २०८२ चैत ३० गतेसम्मका लागि म्याद थप गरिएको छ । हालसम्म सडक निर्माणको प्रगति ३५ प्रतिशत मात्रै रहेको छ । सो सडक खण्डको बङ्कदेखि दोमिल्लासम्म ११ करोड ८६ लाख रुपैयाँमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट