बीबीसी । क्यानडाको आगामी प्रधानमन्त्री बन्ने दौडमा जस्टिन ट्रुडोलाई विस्थापित गर्न सफल मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध व्यापार युद्ध जित्ने वाचा गरेका छन्।
क्यानडा तथा यूकेका केन्द्रीय बैंकहरुका पूर्व गभर्नर रहिसकेका कार्नीले लिबरल पार्टीको नेतृत्वको दौडमा अन्य तीन प्रतिस्पर्धीलाई ठूलो मतान्तरले जिते ।
ट्रम्पविरुद्ध खनिए कार्नी
जितपछि गरेको सम्बोधनमा ५९ वर्षीय कार्नीले ट्रम्पको आलोचना गरे। ट्रम्पले क्यानडामाथि आयात शुल्क वा ट्यारिफ लगाइदिएका छन् अनि क्यानडालाई अमेरिकाको '५१औँ राज्य' बनाइदिने भनेका छन्।
'अमेरिकीहरूलाई हेक्का रहोस्, हक्कीमा जस्तै व्यापारमा पनि क्यानडाले जित्नेछ,' उनले भने।
आगामी केही दिनमा कार्नीले नयाँ प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने अपेक्षा गरिएको छ। उनकै नेतृत्वमा लिबरल पार्टी अर्को आम चुनावमा सामेल हुने छ। चुनावको मिति केही सातामै तोकिने ठानिएको छ।
कार्नीले यसअघि निर्वाचित पद धारण गरेका छैनन्। झन्डै एक दशकसम्म सत्ताको नेतृत्व गरेका जस्टिन ट्रुडोले गत जनावरीमा राजीनामा गरेपछि उनको दलमा नयाँ नेतृत्वको दौड सुरु भएको थियो।
आवास संकट तथा बढ्दो महँगीका कारण अलोकप्रिय बन्दै गएका ट्रुडोलाई पद त्याग्न आन्तरिक दबाव परेको थियो।
प्रतिक्रिया दिनुहोस