२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

मंगलवार , चैत्र ४, २०८१

वासिङ्टन, एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै छन् । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि सम्भावित महत्त्वपूर्ण कदम हुनसक्छ ।

दुवै पक्षले वासिङ्टन र मस्कोबीच भएका हालका वार्ताहरूबारे आशावादी धारणा व्यक्त गरेका छन् तर ३० दिने युद्धविरामको सबैभन्दा कठिन बुँदाहरू समाधान गर्न उच्चस्तरीय वार्ता मात्र सक्षम हुने कुरामा सहमत भएका छन् ।

युक्रेनले युद्धविरामका लागि सहमति जनाएको छ तर किएभ र युरोपेली राजधानीहरूलाई पुटिनले समय कटाइरहेको हुनसक्नेमा आशङ्का छ र ट्रम्प आफूले सम्बन्ध पुनःस्थापना गर्न चाहने नेता विरुद्ध दबाब प्रयोग गर्न इच्छुक हुनुहन्छ कि हुन्न भन्ने कुरामा सन्देह छ ।

“हामी धेरै महत्त्वपूर्ण कुराकानी गर्न जाँदैछौँ”, ट्रम्पले सोमबार पत्रकारहरूलाई भने, “हामी एक अति महत्त्वपूर्ण चरणमा पुग्दैछौँ ।”

“अन्तिम सम्झौताका धेरै तत्वहरूमा सहमति भएको छ, तर अझै धेरै बाँकी छ”, ट्रम्पले पछि आफ्नो ट्रुथ सोशल नेटवर्कमा भने, “म राष्ट्रपति पुटिनसँगको भेटका लागि निकै उत्सुक छु ।”

पुटिनले गत हप्ता युद्धविरामको विचारसँग आफू सहमत भएको तर ट्रम्पसँग छलफल गर्न चाहेको भन्दै यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आफूसँग ‘गम्भीर प्रश्नहरू’ रहेको चेतावनी दिएका थिए ।

मस्कोले दक्षिणी र पूर्वी युक्रेनका भागहरू कब्जा गरेपछि अमेरिकी अधिकारीहरूले युक्रेनले कुनै पनि सम्झौतामा क्षेत्र छोड्नुपर्ने सम्भावना रहेको स्पष्ट पारेका छन् ।

ट्रम्पले आइतबार उहाँ र पुटिनले ‘केही सम्पत्ति विभाजन गर्ने’ बारे छलफल गर्ने बताउनुभयो । यसमा जमिन र विद्युत् संयन्त्रहरू समावेश छन्, यो सम्भवतः दक्षिण युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो मस्को–नियन्त्रित जापोरिझ्झिया आणविक संयन्त्रका सन्दर्भमा भनिएको हो ।

अमेरिका–युक्रेन विभाजन

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि युक्रेनमा अमेरिकी नीतिमा पूर्ण परिवर्तन आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना पुटिनसँग कुरा गरेको घोषणा गरेर विश्वलाई चकित पारेका थिए । यसले रुसी सेनाले युक्रेनमा आक्रमण जारी राखेसम्म रुसी राष्ट्रपतिलाई अलग्याउने पश्चिमी प्रयासहरूलाई तोडेको थियो ।

त्यसयता उनले रुसी राष्ट्रपतिसँग ‘धेरै पटक’ कुरा गरेका छन् । पुटिनका लागि उनले विगतमा बारम्बार प्रशंसा व्यक्त गरेका थिए । यद्यपि कुनै पनि वार्ताको औपचारिक रूपमा घोषणा गरिएको थिएन ।

ट्रम्पका विशेष दूत स्टिभ विटकफले संयुक्त युद्धविराम योजनाको विवरण प्रस्तुत गर्न गत बिहीबार मस्कोमा पुटिनसँग तीन घण्टा बैठक गरेका थिए । उक्त योजनाले युद्धमा ३० दिनको विरामको परिकल्पना गर्दछ ।

तर वासिङ्टनको मस्कोसँगको सम्बन्ध सुधार हुँदा युक्रेनसँगको सम्बन्ध निकै जटिल बनेको छ ।

ट्रम्पको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा ओभल अफिसमा विवाद भएको थियो । उक्त विवादका कारण संयुक्त राज्य अमेरिकाले किएभलाई दिने अर्बौं डलरको सैन्य सहयोग अस्थायी रूपमा निलम्बन गर्न पुग्यो ।

जेलेन्स्की पछि युद्धविराम योजना र संयुक्त राज्य अमेरिकालाई युक्रेनको दुर्लभ खनिज भण्डारमा प्राथमिकताको पहुँच दिने सम्झौता दुवैमा सहमत हुन बाध्य भए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट