२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आँपमा ‘अफइयर’ रोग, पुराना बोट फुलेनन्, नयाँमा ढकमक्क

सोमवार , चैत्र १०, २०८१

महोत्तरी । अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ । कतिपय बोटमा त फूल नै फुल्दैन । यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’ भनिन्छ । यसवर्ष आँपका लागि अफइयर हो । तर अफइयरको प्रभाव पुराना बोटमा मात्र देखिएको छ । पाँच छ वर्षका आँपका रुख मज्जाले फुलेका छन् । भंगाह –४ रामनगरकी शान्तिदेवी साहका बारीमा आँप फुलेर बोटै ढाकेका छन् । बगैँचाका पुराना रुखमा फूल नफुले पनि नयाँ बोटमा पातै नदेखिने गरी फूल फुलेपछि साह आँप फल्ने आशामा छिन् ।

“यसवर्ष वरपर आँप खासै फूलेका छैनन् तर हाम्रोमा त फूलले पातै देखिँदैन”, साहले भनिन्, “यो फूल २५ प्रतिशत मात्र टिक्यो भने पनि नयाँ रुखले फल थेग्न सक्दैन ।” साहले भने जस्तै जिल्लाका सबै भेगमा यसवर्ष पुराना बोटमा फुल कम फुलेको छ ।

जिल्लाको गौशाला, बर्दिवास, मटिहानी, पिपरा र मनराशिशवासहितका स्थानीय तह आँप उत्पादनका उर्बर क्षेत्र मानिन्छन् । सबैतिर पुराना रुखमा अफइयरको असर देखिए पनि नयाँ रुखमा फूल फुलेको गौशाला–१० का अरुण कुशवाहाले बताए । “पुराना रुखमा त कमै फूल फुलेको छ, तर नयाँ रुखमा मज्जाले फुलेको छ”, उनले भने ।

यसवर्ष आँपलाई प्रतिकूल मौसम रहेको किसान बताउँछन् । पानी नपरी हिउँदयाम बित्नु सबैभन्दा ठूलो समस्या छ । गतवर्ष राम्रो फलेको आँप यसवर्ष कम फुलेको फलफूल विज्ञ बताउँछन् । “यो सामान्यतया अरु फलमा पनि हुन्छ, आँप, लिचीसहितका फलमा बढी देखिन्छ”, बागबानी विज्ञका रुपमा काम गरी सरकारी सेवाबाट निवृत्त हुनुभएका भंगाह–५ सीतापुरका रामबहादुर भुजेल भन्छन्, “खासगरी स्थानीय जातका पुराना रुखमा यो असर हुन्छ ।’’ अफइयर सामान्यतया तेस्रो वर्षमा हुने उनको भनाइ छ । यसअघिका दुई वर्ष आँप निकै फलेका थिए ।

यसवर्ष पनि आँपका बोट मज्जाले फूल फुलेपछि बर्दिवास–९ पशुपतिनगरका किसान रामविनोद महतोलाई सन्तोष मिलेको छ । अब चैत वैशाखको असिना र हुरीवतासमा जोगिए आँपबाट राम्रो कमाइ हुने महतोको आशा छ ।

अन्नबालीसहितका अरु फसल फेरिफेरि लगाए जस्तै फलफूल पनि १० १५ वर्षमा ठाउँ फेरेर नयाँ बिरुवा लगाउँदै गए उत्पादन भइरहने फलफूल विज्ञ भुजेल बताउछन् । कम फुलेको आँपलाई यसवर्ष मधुवा (मज्जरमा लाग्ने डढुवा रोग) को प्रकोप छ । मधुवाको प्रकोप पानी नपरेर बढेको किसान बताउँछन् । जिल्लामा पाँच÷छ वर्षयताका नयाँको तुलनामा पुराना रुख बढी हुँदा आँप कम उत्पादन हुने अनुमान गरिएको छ ।

“हिउँदे वर्षा नहुँदा आँप, लिची, रुखकटहरमा फूल फुल्न सकेन, अहिले आँपका फूलमा देखिएको मधुवा पनि पानी नपरेरै बढेको हो”, औरही–७ का ७० वर्षीय मोहन महतोले भने, “राम्रो वर्षा भएर रुखका पात, हाँगा सबै पखालिएर जरामा राम्रो चिस्यान भएमा अरु रोग कम लाग्छ ।”

जिल्लामा पछिल्लो एक दशकयता फुलफूल खेती बढ्दो छ । कृषि कार्यमा जनशक्ति पाउन छाडेपछि किसानले फलफूल खेती बढाएका हुन् । १० वर्षअघि पाँच हजार हेक्टरभन्दा कम क्षेत्रफलमा भएको फलफूल खेती वृद्धि हुँदै हाल १० हजार हेक्टर नाघेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजकिशोर यादव बताउछन् ।

महोत्तरी आँप बढी उत्पादन हुने जिल्लामध्येको एक हो । मधेसको मुख्य फल र फलको राजा भनिने आँप कम फुलेपछि यसवर्ष आँपको मूल्य बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट