२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली लघु चलचित्र ‘द स्कुल वाल’ ले भारतमा जित्यो तीन विधामा अवार्ड

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा नेपालको लघु चलचित्र ‘द स्कुल वाल’ ले तीन विधामा अवार्ड प्राप्त गरेको छ ।

भारतको वन्ली फिल्म फेस्टिभलको आयोजना रहेको सो चलचित्र महोत्सवमा ‘द स्कुल वाल’ ले बेष्ट सर्ट फिल्म, बेष्ट स्टोरी ओरिजिनल र बेष्ट डिरेक्टर जुरी मेन्सन अवार्ड पाएको हो । ऐना अवार्डको प्रस्तुतिमा निर्माण भएको यस लघु चलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् ।

चलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् । थुप्रै लघु चलचित्र तथा नाटकहरु निर्माण गरिसकेका क्षेत्री ‘द स्कुल वाल’ छोटो समयमा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विजेता बनेकोमा खुशी लागेको बताउँछन् । उनी भन्छन्, 'हामीजस्ता भुइँमान्छेले निर्माण गरेको लघु चलचित्र अन्तराष्ट्रिय बजारसम्म पुग्नु नै ठूलो कुरा हो । यसले अझै केहि गर्ने जोश, जाँगर र आँट थपिदिएको छ ।' अब चाँडै ठूलो पर्दाको चलचित्र निर्माण गरिने उनी बताउँछन् ।

‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ । लघु चलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायतको अभिनय रहेको छ ।

बाल मनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ ले रसियाको किनो चलचित्र महोत्सवको फाईनलमा पनि विजेता बनेको थियो । यो लघुचलचित्रले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’, छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार, ग्लोबल एक्सिलेन्स अवार्डमा बेष्ट सर्ट फिल्म अवार्डसमेत प्राप्त गरेको थियो ।

‘द स्कुल वाल’ अमेरिकाको फेस्टिभल एन्जेलिका र स्मलरिग्स अवार्ड, नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, इटालीको वर्क एण्ड इन्टरप्राइजेज फिल्म फेस्टिभल अवार्ड, इजिप्टको पोर्ट सेड फिल्म फेस्टिभलमा छनोटमा परेको थियो । त्यस्तै ब्राजिलको फेस्टिभल द सिनेमा स्टुडेन्टि द ग्युबा, मलेसियाको क्वालालाम्पुर इन्टरनेशनल फिल्म अवार्ड, कोरियाको वन वल्र्ड वन फ्लावर इन्टरनेशनल बुद्धिष्ट फिल्म फेस्टिभल, भारतको सिएमएस, इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा पनि छनोट भएको थियो ।

नेपालको इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ), नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) थाहा चलचित्र महोत्सव लगायतका चलचित्र महोत्सवहरुमा समेत छनोट भएको थियो । विभिन्न विद्यालयहरुमा समेत प्रदर्शन भईरहेको ‘द स्कुल वाल’ को बजार व्यवस्थापक रुपमा लर्निङ मिडिया एण्ड इभेण्ट प्रा।लि।ले गरिरहेको छ । यस फिल्मलाई विद्यालयहरुमा प्रदर्शन गर्दा विद्यालय, शिक्षक तथा विद्यार्थीहरुले सकरात्मक प्रतिक्रिया दिएको र धेरै विद्यालयहरुबाट प्रदर्शनको लागि माग भएको बजार व्यवस्थापक कपिलराज लामिछाने बताउँछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ