कृष्ण पौडेल/काठमाडौं ।
हिजो रात
धेरै बेरसम्म
चन्द्रमासँग कुरा भइरह्यो
म मौन थिए
र ऊ
सबै बुझिरहेथ्यो।
मैले सोधे
तिमी पनि कसैका लागि
यस्तै अधूरो भएर बस्छौ र ?
ऊ हल्का मुस्कुरायो
पछि बादलभित्र
लुक्न पुग्यो।
मैले आफ्नो एक्लोपनको
कुरा गरे
उसले चाँदनी छरेर
मलाई चुप बनायो।
उसले भन्यो
मायामा प्रायः
जसलाई सबैभन्दा धेरै चाहिन्छ
उही
सबैभन्दा टाढा जान्छ।
म धेरै बेरसम्म
आकाश हेरिरहे
र चन्द्रमा
मेरो आँखा भित्र झरिरह्यो।
केही कुरा
उसले पनि लुकायो
केही पीडा
मैले पनि कहिन।
अन्त्यमा
चन्द्रमा बिस्तारै बोल्यो..
तिमी पनि मेरै जस्तै हौ
सबैलाई उज्यालो दिन्छौ
र आफू भने
भित्रभित्रै अधूरो रहन्छौ…
फेरि जादा जादै
मैले चन्द्रमालाई सोधे
यति एक्लो भएर पनि
तिमी किन टुटदैनौ ?
ऊ हल्का मुस्कुरायो
र भन्यो…
केही पीडाहरू
रोएर होइन
बस चम्किएर लुकाइन्छन..॥
प्रतिक्रिया दिनुहोस