काठमाडौं । नेकपा एमाले ले संसदमा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी र परिणाममुखी बनाउन आज संसदीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्र्ने भएको छ । पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम हुने भएको हो।
कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिका, जनप्रतिनिधिको जिम्मेवारी र प्रभावकारी संसदीय अभ्यासका विषयमा मार्गनिर्देशन दिने कार्यक्रम छ । यस्तै, महासचिव शंकर पोखरेलले पार्टीको नीति, संसदीय रणनीति तथा सांसदहरूको दायित्वबारे धारणा राख्नेछन्।
संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईसहित संसदीय अभ्यासका जानकारहरूले संसदीय प्रक्रिया, नियमावली, विधेयक छलफल, प्रश्नोत्तर, विशेष समय र संसदीय मर्यादालगायत विषयमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ।
एमाले संसदीय विभागद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै एमाले सांसदहरूको सहभागिता रहनेछ। साथै, पार्टीका विभिन्न विभागका प्रमुख तथा पूर्वसदस्यहरूलाई पनि आमन्त्रण गरिएको छ।
एमालेले संसदमा आफ्ना सांसदहरूको प्रस्तुतिलाई अझ प्रभावकारी, व्यवस्थित र नीतिमुखी बनाउने उद्देश्यले यस्तो प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस