काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पार्टीका नेता–कार्यकर्ताहरूले स्वागत गरे ।
संयोजक प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए । सो भ्रमणमा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए ।
श्रीलंका भ्रमणका क्रममा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए ।
प्रचण्डको श्रीलंका भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एशियाली वामपन्थी शक्तिहरूसँग राजनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस