काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र गृहमन्त्रीमाथि कडा आक्रमण गर्दै आफूले संसदमा उठाएका प्रश्नको जवाफ दिन खुला चुनौती दिएका छन्।
जापान भ्रमणमा रहेका शाहीले टिकटक लाइभमार्फत बोल्दै आफूमाथि जापानको ओसाकामा आक्रमण भएको भन्ने रास्वपाका कार्यकर्ताले फैलाएको दाबीलाई पूर्ण रूपमा झुटो अफवाह’ भएको बताएका छन्। उनले यस्तो प्रचार आफूलाई बदनाम गर्ने नियोजित प्रयास भएको आरोप लगाए।
शाहीले संसदमा आफूले उठाएका विषयको जवाफ दिन नसकेपछि व्यक्तिगत आक्रमण र चरित्रहत्याको अभियान चलाइएको दाबी गर्दै भने, ‘सहकारी ठग्ने, जेलबाट भाग्नेहरू मर्यादापालक हुने, तर त्यसको विरोध गर्नेचाहिँ असभ्य हुने?’ भन्दै प्रश्न उठाए।
आफू जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसद भएको उल्लेख गर्दै उनले रास्वपामाथि कटाक्ष गरे। ‘म कसैको निगाहमा सांसद भएको होइन, जनतासँग चुनाव लडेर जितेको हुँ,’ उनले भने।
शाहीले गृहमन्त्री सुधन गुरुङको नाम व्यापारी दीपक भट्टसँग जोडिएको दाबी गर्दै त्यसबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग दोहोर्याए। उनले सरकार आफैंले आफैंलाई सफाइ दिएको आरोप पनि लगाए ।
ओसाकामा आफूमाथि कुनै आक्रमण नभएको स्पष्ट पार्दै उनले रास्वपाका सांसद खगेन्द्र सुनारसँग त्यहीँ भेटघाट र कुराकानी भएको उल्लेख गरे। त्यसैलाई बेवास्ता गर्दै आफूमाथि आक्रमण भएको झुटो कथा बनाइएको उनको आरोप थियो । उनले भने तिमीहरुको सासंद खगेन्द्रसँग छाती ठोकेर बोलेको बताए ।
टिकटक लाइभमा शाहीले रास्वपाका कार्यकर्ता र समर्थकलाई लक्षित गर्दै निकै आक्रामक अभिव्यक्ति पनि दिएका छन्। उनले उनीहरूलाई विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै आफू संसदमा उठाएका प्रश्नबाट ध्यान मोड्न भ्रम फैलाइएको दाबी गरे।
शाहीले अन्त्यमा सरकार र रास्वपातर्फ संकेत गर्दै संसदमा उठाएका प्रश्नको तथ्यसहित जवाफ दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा अफवाह फैलाएर राजनीतिक प्रतिवाद गर्न खोज्नु लोकतान्त्रिक अभ्यास नभएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस