चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुईवटा बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनापछि ठोक्किएका बस हटाउने काम भइरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने घाइतेको यकिन संख्या खुल्न बाँकी छ।
दुर्घटनाग्रस्त बसहरूलाई सडकबाट हटाएर यातायात सुचारु गर्ने प्रयास भइरहेको छ।
चितवन जिल्ला प्रशासन कार्यालयले पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि यो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो। आइतबार बिहान ६ बजे सडक खुला गरिएको भए पनि सवारी चालकहरूले लेन अनुशासन पालना नगर्दा सडक खुल्नासाथ दुर्घटना भएको हो। दुर्घटनाका कारण मुग्लिन–नारायणगढ सडकमा सवारीसाधनको लामो जाम लागेको छ।
सडक डिभिजन कार्यालयले मनसुनी मौसममा सडक चिप्लो हुने र पहिरोको जोखिम रहने भन्दै चालकहरूलाई सीमित गतिमा सवारी चलाउन, लेन अनुशासन कडाइका साथ पालना गर्न र उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस