मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालिकाको दुई वटा वडामा प्रसूति गृह निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन् । सोरु गाउँपालिका–४ लिब्रु गाउँमा र वडा–५ नेर गाउँमा प्रसूति गृह (बर्थिङ सेन्टर) बनेपछि स्थानीय हर्षित भएका हुन् । दुवै प्रसूति गृह एकसाथ निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो ।
'ब्याक टू लाइभ इबी' जर्मनीको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र केसिडिसीको प्राविधिक सहयोग तथा साझेदारीमा सोरु गाउँपालिका–४ लिब्रुमा दुई तले, १० कोठे आवासीय सुविधा सम्पन्न पक्की भवनसहितको प्रसूति गृह निर्माण भएको छ भने, सोरु गाउँपालिका–५ नेर गाउँमा १ तले, ७ कोठे पक्की भवनसहितको प्रसूति गृह निर्माण भएको हो ।
आफ्नै घरअगाडि पक्की प्रसूति गृह बनेपछि स्थानीयहरूले साह्रै खुसी लागेको बताएका छन् । गाउँका गर्भवती महिलालाई गोठमा सुत्केरी हुनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयहरुले बताएका छन् । आफ्ना दिनमा यस्ता प्रसूति गृह र स्वास्थ्य संस्था नभएको सुनाउँदै सोरुगाउँपालिका–४ लिब्रुकी ६५ वर्षीया अंगसरा शाहीले आफूहरूको पालामा बच्चा गोठमै जन्माउने गरेको बताइन् । अब गाउँका छोरी–बुहारीलाई प्रसूति गृहमै सुत्केरी गराउन सहज हुने र उनीहरूलाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा पठाउने उनको भनाइ छ ।
पहिला महिलाहरूले बच्चा गोठमै जन्माएको सम्झँदै स्थानीय हिरामती शाही भन्छिन्, ‘आफूले पनि आफ्ना बच्चा गोठमै जन्माएकी हुँ, अब त घरअगाडि संस्थाले सुविधासम्पन्न प्रसूति गृह बनाइदियो, सुत्केरी हुन धेरै सजिलो हुने भयो ।’ कर्णाली सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक कृष्णबहादुर बोहोराका अनुसार ब्याक टू लाइभ इबी जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोग तथा साझेदारीमा संस्थाले समुदायको मागमा शिक्षा र स्वास्थ्य, समुदायमा आधारितलगायत अन्य विभिन्न कार्यक्रम तथा विकास निर्माणका कामहरू गर्दै आएको छ ।
सोरु गाउँपालिकाका धेरै वडा बस्तीमा विद्यालय भवन र प्रसूति गृह निर्माण गरिएको बोहोराले बताए । अहिले लिब्रुमा ७२ लाख २१ हजार ३२९ रुपैयाँमा २ तले १० कोठे आवासीय पक्की भवनसहितको प्रसूति गृह निर्माण गरिएको र सोही पालिकाको नेरमा ५९ लाख ८२ हजार ९२७ लागतमा १ तले ७ कोठे प्रसूति गृह निर्माण सम्पन्न गरेर औपचारिक कार्यक्रम गरी सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक बोहोराले बताए ।
सरकारले राखेको एक वडा एक बर्थिङ सेन्टरको लक्ष्यमा स्थानीय तहहरू सक्रिय भएका छन् । तर, भौगोलिक विकटताका कारण अझै महिलाहरू यो सुविधा पाउन नसकेका सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । उनका अनुसार विभिन्न सहयोगी संस्थाको सहयोगमा विगतका वर्षहरूको तुलनामा स्वास्थ्य सेवाको पहुँचमा विस्तार भएको छ ।
समुदायको मागमा आधारित रहेर स्थानीय सरकारसँगको समन्वयमा प्रसूति गृह निर्माण गरिएको कर्णाली सामुदायिक विकास केन्द्र केसिडिसी मुगुका सल्लाहकार हरिजंंग शाहीले बताए । आगामी दिनहरूमा पनि यस्तै दूरदराजका जनताको मागमा आधारित रहेर उनीहरूको आवश्यकतालाई प्राथमिकतामा काम गर्ने योजना रहेको पनि सल्लाहकार शाहीको भनाइ छ ।
प्रसूति गृह हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही, उपाध्यक्ष केशरजंंग शाही, कर्णाली सामुदायिक विकास केन्द्र केसिडिसी मुगुका सल्लाहकार हरिजंंग शाहीलगायत कर्मचारी, जिल्लास्थित अन्य विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस