काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । एनसेलले आजदेखि आफ्नो पहिलो 'सप इन सप' भैरहवाबाट सञ्चालनमा ल्याएको हो ।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता 'न्यू लुम्बिनी ए टू जेड मोबाइल'सँगको साझेदारीमा एनसेलले आफ्नो पहिलो 'सप इन सप' सञ्चालन गरेको हो । बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो 'एनसेल सप इन सप'को एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।
'सप इन सप'बाट ग्राहकहरुले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरु एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् । ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणिकरण गर्ने लगायतका विविध ग्राहक सेवाहरू लिन सक्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
'अब हाम्रा ग्राहकहरुले सबै ग्राहक सेवाहरु नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रुपमा संचालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो । यस अवधारणा अनुरुप हामीले देशैभर विभिन्न स्थानहरुमा थप सप इन सपहरु सञ्चालनमा ल्याउने योजना अनुसार काम गरिरहेका छौँ जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मूल मर्म अनुसार ग्राहकहरुलाई सेवा प्रदान गर्न सधैं प्रतिबद्ध छौं,' रोड्रिगेजले भने ।
आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सप इन सपले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरु पनि सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस