एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीको घोषणा गरेका छन्। जसलाई ट्रम्पले ‘म्यानहट्टन परियोजना–स्तरीय’ पहलको रूपमा ब्याख्या गरेका छन् ।
ट्रम्पले यो परियोजना तीन वर्ष भित्र पूरा हुने र क्यानडासहित सम्पूर्ण महाद्वीपीय संयुक्त राज्य अमेरिकालाई हवाई खतराबाट जोगाउने खुलासा गरेका छन् । विश्वको अन्य छेउबाट र अन्तरिक्षबाटै क्षेप्यास्त्र प्रहार गरिए पनि यो प्रणाली रोक्न सक्षम हुने ट्रम्पले दाबी गरेका छन् ।
परियोजनाको अनुमानित लागत करिब १७५ बिलियन डलर हुनेछ । उनले आगामी वर्षको रक्षा बजेटमा प्रारम्भिक २५ बिलियन डलर पहिले नै छुट्याइएको जानकारी दिए। ट्रम्पले यस परियोजनालाई ‘देशको सफलताको मात्र होइन, अस्तित्वको लागि पनि अत्यन्तै महत्त्वपूर्ण’ भन्दै उच्च प्राथमिकताको रूपमा चित्रण गरे।
यसअघि मार्चमा काँग्रेसलाई सम्बोधन गर्दै उनले ‘गोल्डेन डोम’ निर्माणको लागि बजेट पारित गर्न आग्रह गरेका थिए। जनवरीमा कार्यभार सम्हालेको केही दिनमै ट्रम्पले ‘द आइरन डोम अफ अमेरिका’ निर्माण गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया दिनुहोस