एजेन्सी । भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।
विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्।
उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन्। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।
भारतीय सञ्चारमाध्यम न्यूज २४ अनलाइनका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए।
प्रतिक्रिया दिनुहोस