२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कृषिमा भविष्य खोजिरहेका वीरेन्द्रले तरबुजा बेचेर कमाए १२ लाख

आइतवार , आषाढ १, २०८२

दाङ । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेतीमा सम्लग्न छन् । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउँछन् ।

कृषि विषय अध्ययन गरेका उनी आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताउँछन् । उनले भने, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले सात वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एक जना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि विगत दुई वर्षदेखि गर्दै आएका छौँ ।” यसबाट राम्रो आम्दानी भइरहेको उनले बताए । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आएका छन् ।

घुस्रामा साढे चार बिघा जग्गा तरबुजाखेतीका लागि भाडामा लिएको उनले भने । उक्त जग्गाको ८० हजार रुपैयाँ तिर्ने गरेर तीन महिना अवधिका लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहेका छन् ।

अहिले आहाना, सरस्वती र विशाला जातको तरबुजा रु ५० किलोका दरले र आरोही रु ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताउँछन् । अहिले दैनिक एक हजार किलो बिक्री हुन्छ । हालसम्म आधाभन्दा बढी बिक्री गरिसकेको उनले जानकारी दिए । बाहिर देशबाट सस्तोमा भित्रिँदा स्थानीय किसान मारमा पर्ने गरेको उनको भनाइ छ । गत वर्ष रु १२ लाखको कारोबार गरेको उनले बताए ।

यस वर्षको हालसम्म रु पाँच लाख रुपैयाँको कारोबार गर्न सफल भएको उनी बताउँछन्। “सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ”, किसान वलीले भने । स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उनले बताए । उनले भने, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुने छ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उनी बताउँछन् ।

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुगेका घोराही –१४ का अर्जुन केसी गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको बताउँछन् । आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उहाँ आग्रह गर्छन् । खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट