२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

सोमवार , आषाढ ९, २०८२

तेहरान, एएफपी । इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ ।

“यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,” इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।

उनलाई इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।

इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनका क्रममा इरानका अधिकारीहरूले उक्त च्यानललाई ‘आतङ्कवादी सङ्गठन’ को रूपमा वर्णन गरेका थिए।

इरानी कुर्दिश युवती अमिनीलाई इस्लामिक गणतन्त्रको कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

इरानले विशेषगरी उसको कट्टर शत्रु इजरायलसँग काम गर्ने विदेशी गुप्तचर निकायहरूसँग संलग्न रहेको देखिएका वा आरोप लागेका व्यक्तिहरूलाई पक्राउ गरी राष्ट्रघात गरेको आरोपमा बर्षौँ जेल र मृत्युदण्डसमेत दिने घोषणा गर्ने गरेको छ ।

आइतबार अधिकारीहरूले यस्ता कारबाहीलाई तीव्रता दिने प्रतिबद्धता जनाएका थिए। सोही दिन, न्यायपालिकाले मोसादको एजेन्ट भएको आरोपमा दोषी ठहरिएका माजिद मोसायेबीलाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।

न्यायपालिकाका प्रमुख घोलामहुसेन मोहसेनी एजेईले सरकारी टेलिभिजनसँग भने, “सुरक्षासँग सम्बन्धित मुद्दाहरू, विशेष गरी इजरायललाई समर्थन गर्ने र शत्रुको पाँचौं स्तम्भको रूपमा काम गर्ने मुद्दाहरूलाई अझ छिटो समाधान गरिनेछ ।”

एम्नेस्टी इन्टरनेसनललगायतका मानवअधिकारवादी समूहका अनुसार इरानमा विश्वकै अत्यधिक धेरै सङ्ख्यामा मृत्युदण्ड दिइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट