काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८ दशमलव ३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर सुरक्षित गरेको छ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले निर्माण गरिरहेको ९ दशमलव ६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २५ करोड रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९ दशमलव ८३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ दशमलव ९० वर्ष रहेको छ।
प्रतिक्रिया दिनुहोस