२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोरङ जिल्ला अदालतको प्रगति : एक वर्षमै करिब ७० प्रतिशत मुद्दा फछ्र्यौट

बिहिवार , श्रावण १, २०८२

विराटनगर । मोरङ जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा करिब ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार यस अवधिमा अदालतले ७ हजार १ सय ३५ मुद्दालाई किनारा लगाएको छ, जुन लक्ष्यभन्दा बढी हो ।

अदालतले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षसम्म जिम्मेवारी सरेर आएका ३ हजार ७ सय ९५ मुद्दा र नयाँ दर्ता भएका ६ हजार ४ सय २५ मुद्दा गरी जम्मा १० हजार २ सय २० मुद्दा थिए । तीमध्ये ७ हजार १ सय ३५ मुद्दा फछ्र्यौट भएको हो ।

अदालतले सुरुमा ६ हजार ९ सय मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो, तर लक्ष्यभन्दा १०३ दशमलव ४१ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएको स्रेस्तेदार पोखरेलले जानकारी दिए । उनका अनुसार लगतको तुलनामा ६९ दशमलव ८१ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।

मोरङ जिल्ला अदालतले पुराना मुद्दा घटाउनेतर्फ पनि विशेष ध्यान दिएको देखिन्छ । २०७९/०८० मा २ वर्ष नाघेका मुद्दा १४ वटा थिए भने १८ महिना नाघेका मुद्दा १ सय ७७ वटा थिए । त्यसपछि २०८०/०८१ मा क्रमशः ९ वटा र १ सय ३ वटा मुद्दा पुराना थिए । तर, ०८१/८२ मा ती संख्या घटेर २ वर्ष नाघ्ने मुद्दा २ वटा मात्र र १८ महिना नाघ्ने मुद्दा ३९ वटा रहेका छन् ।

अदालतका स्रेस्तेदार पोखरेलका अनुसार १८ महिना नाघेका १ सय १२ वटा मुद्दा पूर्ण फछ्र्यौट भएका छन् । त्यसैगरी, असार मसान्तसम्म २ वर्ष पुग्ने ५ सय ९४ मुद्दामध्ये ५ सय ९२ वटा फछ्र्यौट भइसकेका छन् । २ वटा मात्र बाँकी छन् । असार मसान्तसम्म १८ महिना पुग्ने १ हजार ५ सय ८९ मुद्दामध्ये पनि १ हजार ५ सय ४८ मुद्दा फछ्र्यौट भइसकेका छन् र ४१ वटा मात्र बाँकी छन् ।

No description available.

अदालतले मुद्दा मात्र होइन, फैसला कार्यान्वयन र जरिबाना असुलीतर्फ पनि प्रगति गरेको जनाएको छ । आर्थिक वर्ष ०८१/०८२ मा २ हजार १ सय ८१ वर्ष ३ महिना १३ दिन कैद असुल भएको छ । अझै ६ हजार १ सय ३३ वर्ष ७ महिना २४ दिन कैद असुल गर्न बाँकी रहेको छ ।

त्यस्तै, जरिबाना तर्फ १ अर्ब २८ करोड ३६ लाख रुपैयाँमध्ये ९ करोड ३१ लाख रुपैयाँ असुल गरिएको छ । अझै १ अर्ब १९ करोड ५ लाख रुपैयाँ असुल गर्न बाँकी रहेको छ । यसरी १ वर्षको अवधिमा ७ दशमलव २५ प्रतिशत जरिबाना असुल गर्न अदालत सफल भएको छ भने कैदतर्फ २६ प्रतिशत मात्र असुल भएको स्रेस्तेदार पोखरेलले बताए ।

मोरङ जिल्ला अदालतले पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा मुद्दा फछ्र्यौटको क्षेत्रमा क्रमशः प्रगति गरेको देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा ६१ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ भने आर्थिक वर्ष २०८०/०८१ मा ६३ दशमलव २१ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ६९ दशमलव ८१ प्रतिशत मुद्दा फछ्र्यौट भएको देखिन्छ ।

No description available.

भौतिक संरचनाको अभाव

अदालतका स्रेस्तेदार पोखरेलका अनुसार न्यायाधीशको दरबन्दी १३ भए पनि हाल ११ जना मात्र कार्यरत छन् । बाँकी २ जना न्यायाधीश नारायणप्रसाद पौडेल र शिवप्रसाद पराजुली काजमा भक्तपुर जिल्ला अदालतमा कार्यरत छन् ।

भौतिक संरचनाको अभाव अझ ठूलो समस्या बनेको छ ।

हालको भवनमा ११ भन्दा बढी इजलास राख्ने ठाउँ नभएको र पुरानो संरचनाबाटै सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको पोखरेलले बताए । अदालतसँग जोडिएको भूमिसुधार तथा मालपोत कार्यालयको भवन २०७५ सालमै अदालतको नाममा आए पनि अझै प्रयोग गर्न नपाएको उनले बताए ।

‘अदालतसँगै जोडिएको भवन प्रयोग गर्न पाएको भए काम धेरै सहज हुने थियो । तर, अहिले पनि मालपोत कार्यालयले प्रयोग गरिरहेको छ,’ पोखरेलले भने ।

पुराना मुद्दा फछ्र्यौटमा प्राविधिक चुनौती

पत्रकार सम्मेलनमा जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईले पुराना मुद्दा फछ्र्यौट गर्न प्राविधिक समस्या आउने गरेको बताए ।

‘कतिपय मुद्दामा प्रतिवादीको ठेगाना नै पत्ता लाग्दैन । खोज्न लामो समय लाग्छ,’ उनले भने, ‘देवानी मुद्दामा आवश्यक प्रमाणपत्र, कागजात जुटाउन समेत समय लाग्ने र यही कारण केही पुराना मुद्दा बाँकी रहन पुगेको हो ।’ तर, पनि रणनीतिमा आधारित कामका कारण लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्न सफल भएको भट्टराईको दाबी छ । ‘न्यायमा ढिलाइ हुन नदिने नीति अपनाएका छौं । यसैले धेरै मुद्दाको चाँडै टुंगो लगाउन सकेका छौं,’ उनले भने ।

अदालतका स्रेस्तेदार पोखरेलले देशभर १० हजारभन्दा बढी मुद्दा रहेका अदालतहरुमध्ये मोरङ जिल्ला अदालत मुद्दा फछ्र्यौटमा शीर्ष स्थानमा रहेको दावी गरे । ‘यो एक वर्षको अवधिमा १० हजार भन्दा बढी मुद्धा भएको जिल्लामा करिब ७० प्रतिशत मुद्दा फछ्र्यौट हुनु ठूलो उपलब्धि हो । अन्य अदालतमा यति धेरै फछ्र्यौट भएको छैन,’ उनले भने ।

पत्रकार सम्मेलनमा न्यायाधीशहरु दुर्गाबहादुर भुसाल, चित्रबहादुर गुरुङ, केशव घिमिरे, बाबुराम सुवेदी, सीता शर्मा अधिकारी, पारसमणि पोखरेल, जुद्धबहादुर आलेमगर, मनिराम ज्ञवाली, मेघनाथ चापागाईं, अरुणकुमार झा, स्रेस्तेदार मणिराम पोखरेल, सूचना अधिकारी हेमबहादुर बुढाथोकी, शाखा अधिकृत युवराज पौडेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट