काठमाडौं । सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । तीन खेलको प्रतिबन्ध पूरा गरी फर्किएकी सागोरिका एक्लैले चार गोल गरेपछि बंगलादेशले उपाधि रक्षा गरेको हो ।
नेपाललाई ४–० गोलअन्तरले पराजित गर्दै साविक विजेता बंगलादेशले उपाधि रक्षा गरेको छ भने नेपाल फेरि उपविजेतामै सीमित भएको छ ।
पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोरेको हो । बंगलादेशका लागि सागोरिकाले ह्याट्रिकसहित ४ गोल गरिन् ।
खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् ।
दोस्रो हाफको ५१औं मिनेटमा दोस्रो गोल गरिन् भने ५८औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । ७७औं मिनेटमा सागोरिकाले फेरि गोल गर्दै अग्रता ४–० मा पुर्याइन् । बंगलादेशविरुद्धको खेलमा नेपाली खेलाडीहरू निरीह देखिएका थिए ।
बंगलादेश ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर च्याम्पियन बन्यो ।
प्रतिक्रिया दिनुहोस