२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुन्छ : मन्त्री चौधरी

आइतवार , श्रावण २५, २०८२

पाँचथर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल चलिरहेको उल्लेख गर्दै उनले अब भने परिवर्तन नहुने गरी प्रतियोगिताको मिति तय गरिने बताए ।

आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा आयोजना हुने प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश सरकारसँग छलफल चलिरहेको जानकारी गराए ।

“प्रतियोगिता सञ्चालनको मुख्य जिम्मेवारी प्रदेश सरकारको भएकाले मुख्यमन्त्रीसहित सबै सरोकारवालासँग छलफल चलाइरहेका छौं”, मन्त्री चौधरीले भने, “यसमा प्रधानमन्त्रीज्यूको पनि चासो रहेकाले चाँडै परिवर्तन तय गर्छौं ।”

मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सञ्चालनमा भएका वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी छानबिन गर्न एक समिति गठन गर्ने पनि जानकारी दिए । “प्रतियोगिता सञ्चालन गर्दा मौजुदा कानुनको अधिनमा रहेर काम गर्न सबै पक्षलाई हामीले आग्रह गर्दै आएका छौं”, मन्त्री चौधरीले भने, “नियमनको जिम्मेवारी मन्त्रालयकै भएको हुँदा कानुनको अधिनमा रहेर एनपिएल सम्पन्न गर्न मन्त्रालयले सहयोग गर्नेछ ।”

मन्त्री चौधरीले खेलकुदका संरचना निर्माणका लागि निकै कम मात्रै जग्गा प्राप्त नहुने अवस्था रहेको र प्राप्त जग्गामा संरचना निर्माण गर्न बजेट अभाव हुने गरेको बताए ।

“आगामी दिनमा स्थानीय तहले पनि जग्गाको प्रबन्ध गर्नुपर्ने आवश्यकता छ”, उनले भने, “अहिले प्राप्त भएका जग्गामध्ये करिब ७० प्रतिशतमा खेलकुदका संरचना निर्माण भइरहेका छन् ।”

मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले प्रदेश र स्थानीय तहलाई खेलकुदका कर्मचारी पठाउने तयारी गरेको जानकारी दिए । यसका लागि मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको र उक्त काम भदौभित्र सम्पन्न हुने उनको भनाइ छ ।

मन्त्री चौधरीले अलपत्र बनेको फिदिम रङ्गशाला निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । फिदिम रङ्गशाला निर्माण बहुवर्षीय ठेक्कामा नपर्दा बजेट अभाव हुने गरेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षदेखि बजेट अभाव हुन नदिने र बहुवर्षीय ठेक्कामा रुपान्तरण गर्ने बताए ।

रु १० करोड ६३ लाख ७५ हजारको लागतमा पिएस–किरातेश्वर–मैनाचुली जेभीले उक्त रङ्गशाला निर्माणको ठेक्का पाएको थियो । विसं २०७७ फागुनमा निर्माण सुरु गरिएको खेलमैदान २०७९ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि हालसम्म जम्मा ३१ दशमलव ७५ प्रतिशत मात्रै भौतिक प्रगति भएको जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट