काठमाडौं । काठमाडौं महानगरपालिकाले खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेका पुरूष र महिला टोलीलाई ११–११ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।
त्यस्तै आज महानगरले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
नेपालका रवीन्द्रले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।
सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो ।
यस्ता खेलले नेपालको शिर ठाडो बनाएको महानगरले जनाएको छ । महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ ।
खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय बेहोरेको थियो ।
महिला टोलीले फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजय बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस