काठमाडौं । बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समय अनुसार २ः१५ बजे सुरु हुनेछ । एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।
टोलीमा बिग ब्यासको राम्रो अनुभव भएका खेलाडीहरू छन् । टोलीमा डार्सी शर्ट मुख्य आकर्षण हुन्, जसले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी–२०आई खेलिसकेका छन् ।
उनको साथमा जेक वेदराल्ड छन्, जसले सेफिल्ड शिल्डमा उच्च रन बनाउँदै अस्ट्रेलिया ‘ए’का लागि शतकीय इनिङ खेलेका छन् । उनले आगामी एशेजमा टेस्ट डेब्यू गर्न सक्ने चर्चा पनि भइरहेको छ ।
नेपालले दोस्रो खेलमा शनिबार बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।
प्रतिक्रिया दिनुहोस